काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किएकी छन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् ।

राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखियो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट सीधै जाँदा हाई अल्टिच्युड हुने गर्छ ।

काठमाडौँका आकाश खाली !

चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएकी राष्टपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएका छन् ।

राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको छ ।

यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो ।

मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेरसम्म आकाशमा फन्को लगाएको छ ।