काँकरभिट्टा । नेपाल पुलिस क्लब टाइब्रेकरमा भाग्यमानी सावित हुँदै यहाँ जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले सिएमजी संकटा क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै मेचीनगर गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । अन्तिम ३ मिनेट सम्हालिन नसक्दा पुलिसले ९० मिनेटभित्र नतिजा निकाल्न सकेन ।

पुलिसका लागि खेलको ७१औँ मिनेटमा मानबहादुर परियारले गोल गरेर अग्रता दिलाएका थिए । रोमाञ्चकारी भिडन्तमा संकटाका लागि विदेशी खेलाडी फोफोना फोडेले आकर्षक गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

तर, टाइब्रेकरमा अभागी बनेको संकटाले खेलको म्यान अफ दी म्याचसमेत गुमायो । खेलको म्यान अफ दी म्याच पुलिसका मानबहादुर परियार घोषित भए । उनले नगद ११ हजार पाए ।

१० टिम सहभागी गोल्डकपको विजेताले नगद १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।
बिहीबारको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।