काँकरभिट्टा । साविक विजेता त्रिभुवन आर्मी क्लब यहाँ जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणमा पनि फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार काँकरभिट्टा माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा उपाधिको दाबेदार मानिएको थ्री स्टार क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो ।

यो जीतसँगै आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
खेलको २८औँ मिनेटमा कप्तान नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले ४०औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाउन सफल भए । तर, पहिलो हाफको अतिरिक्त समयमा थ्री स्टारका विदेशी खेलाडी म्याक्सवेलले गोल गरेर अन्तर कम गरे ।
खेलको ५४औँ मिनेटमा म्याक्सवेलले थ्री स्टारका लागि दोस्रो गोल गरेर खेललाई बराबरीमा पुर्याए । खेलको ६३औँ मिनेटमा दीपकुमार लामाले आर्मीका लागि गोल गरेर फाइनलमा स्थान सुरक्षित बनाए ।

खेलको म्यान अफ दी म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद ११ हजार पुरस्कार प्रदान गरे । १० टिम सहभागी गोल्डकपको विजेताले नगद १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।
शनिबार आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।