विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर र नाम कोसी राख्न नेकपाको नेतृत्व सहमतिको नजिक पुगेको छ । स्रोत अनुसार बिहिबार प्रदेश १ का १४ वटै जिल्लामा सांसदहरुसँग भएको छलफलपछि पार्टी नेतृत्व उक्त निश्कर्षको नजिक पुगेको हो ।

शुक्रबार दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक बस्दैछ । उक्त बैठकमा पार्टी नेतृत्वको निश्कर्षलाई सुझावका रुपमा प्रस्तुत हुने जनाइएको छ ।

नेकपाको प्रदेश कमिटीको बैठकमा इन्चार्ज भीम आचार्य बाहेक सहइन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे र सचिव सुरेश राईले विराटनगरलाई प्रदेश राजधानी बनाउने बिषयमा आफ्नो धारणा राखेको जनाइएको छ ।

इन्चार्ज आचार्य भने राजधानीको बिषयमा मौन बसेको जनाइएको छ । तर बिहिबार रातीको अन्तिम छलफलपछि भने आचार्य समेत विराटनगरकै लाइनमा  पुगेको उनी निकट नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

संसदीय दलको निर्देशन विपरित केही सांसदहरुले आफूखुसी हस्ताक्षर अभियान चलाएका कारण पार्टी नेतृत्वलाई निश्कर्षमा पुग्न सकस परेको थियो ।

मुख्यमन्त्री शेरधन राईले दलको निर्णय विपरित माहौल बिगार्ने गरी हस्ताक्षर अभियान चलाएको कुरा सुन्ने बित्तिक्कै रोक्नका लागि निर्देशन दिएको निकट स्रोतले बताएको छ ।