काठमाण्डौ / राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एक पटक विवादमा तानिनुभएको छ ।

संघीय संसदको दुवै सदनमा संयुक्त रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा राष्ट्रपति भण्डारी विवादमा तानिनुभएको हो । नीति तथा कार्यक्रमभित्र समेटिएको तथ्यांक र अन्य विषयमा भन्दा पनि सम्बोधनका क्रममा पटक पटक ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि राष्ट्रपतिविवादमा पर्नुभएको हो ।
गणतन्त्र स्थापनापछि अहिलेसम्म कसैले पनि ‘मेरो सरकार’ भनेर भनेका थिएनन् । पहिलो पटक राष्ट्रपति बन्नुभएका डा.रामबरण यादवले पनि नेपाल सरकार वा यस सरकार भन्ने गर्नुहुन्थ्यो । यस अघि गएको वर्ष भण्डारी स्वंयमले पनि नेपाल सरकार वा यस सरकार भन्ने गर्नुभएको थियो । तर अहिले भने ‘मेरो सरकार’ भनेर सम्बोधन गर्दा तानाशाही राजतन्त्रका बेलाको झल्को दिएको भन्दै धेरैले सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् ।

संसदमा ‘मेरो सरकार’ भनेर गरिएको सम्बोधन प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर नरहेको भन्दै कटाक्ष गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिउँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटी बिल्कुलै होइन !’

संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहने उल्लेख भएकाले राष्ट्रपतिले मेरो सरकार भन्नु लोकतन्त्रकै उपहास भएको साझा विवकेशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र बताउनुहुन्छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अभि व्यक्ति पोख्दै ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर–जिम्मेवार र लोकतान्त्रिक भावनाको बर्खिलाफ छ । यो राष्ट्रपतिको सरकार होइन । नेपाली जनताको सरकार हो । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नीहित रहेको उल्लेख छ ।’

साथै उहाँले राष्ट्पतिले गरेको सम्बोधनमा ‘मेरो सरकार’ शब्द कसले लेखेको होला भन्दै प्रश्न पनि गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले आफू नागरिकको सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको भए पनि राष्ट्पतिको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको रहेछ भन्दै उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ कहिले आउँ भनेर प्रधानमन्त्रीलाई व्यङ्ग्यात्मक प्रश्न पनि गर्नुभएको छ ।

थापाले ट्विटरमा लेख्नुभएको छ, ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’
शाही शासनकालमा ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो तर अहिले ‘नेपाल सरकार’ भन्ने गरिएको छ । संविधानले पनि सरकार जनतामा निहित हुने भनिएकाले ‘मेरो सरकार’ भन्नु तानाशाही तन्त्रको पुनराबृत्तिको झल्को दिएको विश्लेषकहरु बताउँछन् ।

गणतन्त्र घोषणापछि पहिलो पटक राष्ट्पतिले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुभएको हो ।

सरकारको नीति तथा कार्यक्रम पहिला क्याविनेटबाट पारित भएर राष्टपतिको सम्म पुग्छ । राष्ट्पतिले पनि अध्ययन गरेपछि बल्ल सदनमा प्रस्तुत हुन्छ । दुई चरण पार गरेर सम्बोधन गर्दा पनि ‘मेरो सरकार’ नै सम्बोधन गर्नु भनेको सुनियोजित रुपमा ल्याइएको कांग्रेस नेता गगन थापाको दावी छ । यसले शाही विलाशिताको अभ्यासमा सरकार लागेको प्रमाणीत गरेको उहाँ बताउनुहुन्छ ।

उज्यालो अनलाइनबाट