इलाम । जिल्लाको पूर्वी नाका पशुपतिनगरबाट भारत सिक्किममा उत्पादन हुने विभिन्न ब्राण्डका मदिरा नेपाल भित्रिने गरेको खुलासा भएको छ ।

सो नाकाबाट भारतीय सिक्किम ब्राण्डका रक्सी तथा बियर चोरी निकासीको माध्यमबाट नेपाली बजार भित्राउने तस्कर समूह सक्रिय बनेपछि यस्तो पाइएको हो ।

यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल, २ नम्बर गण झापाबाट खटिएका सादा पोसाकका सशस्त्र प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित मेची राजमार्गबाट ११४ बोतल रक्सी बरामद गरेको छ ।

इलामको पशुपतिनगरबाट झापातर्फ आउँदै गरेको यात्रुवाहक बस चेकजाँचको क्रममा सशस्त्र प्रहरीले भारतीय सिक्किम ब्राण्डका रक्सीका बोतल बरामद गरेको शस्त्र प्रहरी बल नेपाल, २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १७ वटा साना कार्टुन र एउटा ठुलो कार्टुनमा उक्त रक्सी प्याक गरेर नेपाल भित्राइएको हो । बरामद गरिएको अन्दाजी ४५ हजार रुपैयाँ बराबरको रक्सी आवश्यक कारबाहीका लागि भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालय मेची बुझाइसकेको जनाइएको छ ।

पछिल्लो समयमा इलाम र झापाका नाकाबाट पनि भारतीय ब्राण्डका रक्सी तथा बियर नेपाल ल्याउने गरेको छ । केही परिणाम झापाका बजारमा खपत गर्ने र बाँकी नेपालको नाका हुँदै भारतको विहार राज्य पठाउने तस्करको योजना रहेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।

भारतको विहारमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा राज्य सरकारले रोक लगाएपछि भारतको बाटो भएर सिक्किमे मदिरा लैजान सक्दैन । त्यसैले नेपालको बाटो भएर विहार भित्राउने गरेको बताइएको छ ।

सशस्त्र प्रहरीले यसअघि पनि पशुपतिनगरबाट भित्राइएको भारतीय रक्सी पटक पटक बरामद गरिसकेको छ । पशुपतिनगरबाट मदिरासहित लत्ताकपडा समेत भित्राउने गरेको जनाइएको छ ।