काठमाडौ । राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर ४ गतेदेखि धरानमा छैठौं महाधिवेशन गर्ने भएको छ ।

उपमहासचिव एवं केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियारका अनुसार हालै बसेको केन्द्रीय समितिको बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण भएपछि बसेको केन्द्रीय समितिको बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको छ ।

पार्टीका नेतालाई जिम्मेवारी हेरफेरसँगै कार्य विभाजन पनि गरेको छ । पार्टीले जनवर्गीय संगठनको नेतृत्वसमेत तोकेको छ । २ पार्टीबीच गत चैत्रमा एकता भएको थियो । बैठकले बढ्दो भ्रष्टाचारविरुद्ध जेठ महिनादेखि ‘भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान’ चरणबद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको छ । सो अभियानका लागि पार्टी महासचिव केशव सूर्यवंशीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

परियारका अनुसार महाधिवेशन संयोजकमा संस्थापक नेता रामबहादुर तुम्वाहाम्फे, उपसंयोजकहरुमा क्रमशः उपाध्यक्ष मोहन धिमाल र प्रदेश नं. १ का अध्यक्ष प्रकाश येङदेन, प्रचार संयोजकमा उपमहासचिव एवं केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियार, अर्थ संयोजकमा कोषाध्यक्ष डबबहादुर गर्वुजा र सचिवालय संयोजकमा केन्द्रीय सचिव पदम जवेगु र विष्णु थाम्देनलार्ई जिम्मेवारी प्रदान गरिएको छ ।

गोविन्द नेपाली (कञ्चनपुर) लाई प्रदेश ७ को संयोजक बनाएको छ भने मनोज परियार (दार्चुला) लाई सहसचिव र प्रेम नेपाली (अछाम), निर्मल मग्राती (गोर्खा), गजेन्द्र पासवान (सप्तरी), रुपेश वागचन (सल्यान), सरोज कार्की (चितवन), कमला नेपाली (गुल्मी), कृष्ण भण्डारी (बैतडी), राजेन्द्र विक (सप्तरी), दुर्गा विक (तनँहु) र सरोज उपरकोटी (चितवन) लाई संघीय परिषद सदस्यमा मनोनयन गरेको छ । खम्बुवान राष्ट्रिय मोर्चाबाट पार्टी प्रवेश गरेका राज्य राई (देमिन) लाई पार्टीको संघीय परिषद सदस्यमा मनोनित गरेको छ ।

पार्टी अध्यक्ष केपी पालुङवाको सभापतित्वमा बसेको सो बैठकले जातीय समन्वय विभागलाई अधिकार सम्पन्न ‘जातीय विभाग’ मा परिणत गर्दै विभागका प्रमुख दलबहादुर वीरकट्टालाई उपाध्यक्ष बनाएको छ । सामाजिक सञ्जाल ब्यूरोको प्रमुखको समेत जिम्मेवारी बहन गर्ने गरी यातायात विभाग प्रमुख सूर्यकुमार सारुलाई सचिव पदमा बढुवा गरेको छ ।

सचिव बलदीप राईलाई बुद्धिजिवि विभाग प्रमुखको जिम्मेवारी दिएको छ । संघीय परिषद सदस्य श्याम परियारलाई राष्ट्रिय दलित मोर्चाको राष्ट्रिय भेला संयोजकको जिम्मेवारी तोकेको छ ।
२०४८ सालमा स्थापित पार्टीको चुनाव चिन्ह घर हो ।