बिर्तामोड । बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत बुधबार भएको फुटबल खेलमा वडा नं ४ विजयी भएको छ ।

स्थानीय डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा वार्ड नं ४ ले वार्ड नं ९ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा अन्त्यतिर वार्ड नं ४ ले गोलको खाता खोलेको थियो ।

पेनाल्टी एरियाबाट योगेश गुरुङको पासमा सुमिन मैनालीले गोल गर्दै टिमलाई अग्रता दिलाए ।पहिलो हाफ १–० को स्थितिमा टुंगिएकोमा दोस्रो हाफमा वार्ड नं ९ ले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो मिनेटमै बराबरी गोल गरेको थियो ।

टिमका लागि निशान मगरले ३० यार्ड बाहिरबाट हानेको प्रहार विपक्षी टिमका गोलकिपरले बचाउ गर्न सकेनन् । खेलको अन्तिम दुई मिनेटमा सुमिन मैनालीले नै व्यक्तिगत दोस्रो गोल गर्दै वार्ड नं ४ लाई जीत दिलाए ।

खेलको म्यान अफ दी म्याच विजयी टिमका सुमिन मैनाली घोषित भए । बिहीबार वार्ड नं २ र ७ बीच प्रतिस्पर्धा हुनेछ ।