काठमाडौं- आजदेखि सुरु भएको तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश दुईलाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

२७९ रनको विजयी लक्ष्य प्रछ्याएको प्रदेश २ ले ३१.४ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो । प्रदेश २ का लागि ओपनर हरि शंकर शाहले सर्वाधिक २१ रनको योगदान दिए । जितेन्द्र मुखियाले १०औं ओभरको चौथो बलमा राजेश पुलामी मगरबाट क्याच गराउनुअघि उनले २८ बलमा ४ चौका प्रहार गरे ।

त्यस्तै, अर्का ओपनर सुधिर चौधरीले ५० बलमा १ चौका प्रहार गर्दै १५ रन बटुले । ओपनर शाह र चौधरीले पहिलो विकेटको लागि ९.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए पनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हुन पुगेपछि प्रदेश २ ले फराकिलो हार ब्यहोर्र्नु परेको हो ।

कुनै समय २५.३ ओभरमा ८६.८ को कमजोर अवस्थामा पुगेको प्रदेश दुईलाई राशिद खान र सुरज पेटलले २१ रनको साझेदारी गर्दै हारको अन्तर घटाए । पटेल ११ रनमा आउट हुँदा राशिद खान १४ रनमा अविजित रहे । राशिद खानले १६ बलमा २ चौका प्रहार गरे ।

प्रदेश २ का अन्य कृष्णजंग कार्की ९, साम्सद शेख १६, विशाल शुसलिङ ४, महबुबु आलम ५, हासिम अन्सारी शुन्य र विवेक यादव ५ रनमा आउट भए । प्रदेश २ लाई सस्तैमा रोक्न आर्मीका युवा स्पिनर साहव आलमले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिदैं घातक बलिङ गरे । त्यस्तै सुशन भारिले ६.४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिदा जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट हात पारे ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७८ रन बनाएको थियो । आर्मीका लागि ओपनर राजु रिजालले ९० रनको उत्कृष्ट पाली खेले । ३५ ओभरको अन्तिम बलमा हरि शंकर शाहले महबुब आलमबाट क्याच गराएपछि शतक बनाउन चुकेका रिजालले १०९ बलमा ५ चौका र २ छक्का प्रहर गरे । त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ६१ बलमा ९ चौकासहित ६६ रनमा क्याच आउट भए ।

२२औं ओभरको पहिलो बलमा साम्सद शेखले विकेटकीपर हासिम अन्सारीबाट भण्डारीलाई क्याच गराउनु अघि उनले राजुसँग १२१ रनको शतकीय साझेदारी गरेका थिए । रोहितकुमार पौडेलले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । रोहितलाई ४९ ओभरको अन्तिम बलमा राशिद खानले साम्सद शेखबाट क्याच आउट गराए ।

हरिबहादुर चौहाले ४४ बलमा २ चौकासहित २६, भिम सार्की ६, राजेश पुलामी मगर ८, करण केसी ११ र कुशल मल्ल ३ रनमा आउट भए । प्रदेश २ का हरिशंकर शाहले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै साम्सद शेख, राशिद खान, विवेक यादव र विशाल शुसलिङले समान १ विकेट हात पारे । तस्वीर : हाम्रो खेलकुद डटकम