इलाम । वडाको सडकलाई अलवेदर बनाउने उद्देश्यले इलामको रोङ गाउपालिका वडा नम्बर २ मा ग्राभेल गर्न थालिएको छ ।

वडा नम्बर २ को बरफल्याङ क्षेत्रमा १ किलोमिटर ८५० मिटर सडकमा ग्राभेल गरिएको हो । सघीय सांसद झलनाथ खनालको सांसद बिकास कोषबाट प्राप्त १० लाख रुपैयाको लागतमा सडकमा ग्राभेल गरिएको वडाअध्यक्ष टेकबहादुर तामाङले बताए ।

‘हिउदमा त सहजै हुने हो तर बर्खामा सवारी साधन नचल्ने अवस्था आउथ्यो’, वडाअध्यक्ष तामाङले भने, ‘सानो नेते खोलामा पक्की पुल बनेको अवस्थामा अव बर्खामा समस्या नहोस् भन्ने हाम्रो चाहना हो ।’

स्थानीय खगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा उपभोक्ता समिति बनेको र सोही समितिमार्फत काम भइरहेको पनि वडा अध्यक्ष तामाङले बताए । खोलाको गिटी बालुवा गाडीमा बोकाइ सडकमा बिच्याइएको र रोलर लगाएपछि धेरै समयसम्म बाटो नबिग्रने भएकाले बर्खामा पनि सवारी साधन सहज गुड्न सक्ने वडाबासीले आशा राखेका छन् ।

यसैबीच सानो नेते खोलामा पक्की पुलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । प्रदेश सभा सदस्य काजीमान कागतेको सांसद बिकास कोषको २० लाख रुपैया, अर्जुनधारा नगरपालिकाको ३० लाख र रोङ गाउपालिकाको १० लाख गरी कुल ६० लाखको लागतमा पुल बन्न लागेको हो । पुलको पिल्लरको काम सकिएको र अब बढीमा १५ दिनभित्रमा पुलको माथिल्लो भाग अथवा छत ढलाइ हुने वडा सदस्य सरण तामाङ बताउछन् ।

‘पुल निर्माण भएपछि बर्खाको समयमा खोलाले रोक्ने समस्याबाट शान्तिपुर क्षेत्रका बासिन्दा मुक्त हुन्छन्’, वडा सदस्य तामाङले भने, ‘कृषिजन्य उत्पादन बजारमा पु¥याउन सहज हुने भएकाले वडाका बासिन्दाको आर्थिक कृयाकलापमा पनि बृध्दि हुन्छ ।’

खोलामा पुल र गाउको सडकमा पनि ग्राभेल भएपछि वरफल्याङ क्षेत्रको बासिन्दालाई हिउद(बर्खा नै यातायातको सहजता हुने अनुमान गरिएको छ ।