दुधे, झापा । साविक विजेता नेपाल पुलिस फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रेखा पौडेलको चम्किएपछि विपक्षी बागमती युथ क्लब स्तब्ध बनेको थियो ।

 

बागमतीलाई ६–० गोलअन्तरले हराउँदै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको भेट पक्का गरेको छ । खेलको १५औँ मिनेटमा कप्तान अमृता जैसीको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।

 

१७औँ मिनेटमा निर्मला बिकमाथि बागमतीका खेलाडीले बक्सभित्र फाउल गरेपछि पुलिसले पेनाल्टी पाउँदा राष्ट्रिय टिमकी सदस्य रेखा पौडेलले गोल गरिन् । यस्तै, ४२औँ मिनेटमा पुलिसले अर्को पेनाल्टी पायो । दोस्रोपटक पाएको पेनाल्टीलाई रेखाले नै गोलमा परिणत गरिन् ।

 

पहिलो हाफको अतिरिक्त समयमा सम्झना लावतीले गोल गर्दै पुलिसलाई जित नजिक पु¥याइन् । खेलको ८३औँ मिनेटमा बक्स नजिकै पाएको फ्रिकिकलाई सदुपयोग गर्दै रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् ।

 

८५औँ मिनेटमा मैदानको मध्यभागबाट लगेको बललाई रेखाले विपक्षी पोस्टको सेकेन्ड बार च्यापेर गरेको प्रहार गोल भएको थियो । मध्यान्तरपछि पुलिसलाई बागमतीले दबाबमा राखे पनि विपक्षी पोस्टमा कुनै आक्रमण बुन्न सकेको थिएन ।

 

खेलको प्लेयर अफ द म्याच विजेता टिम पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (बुधबार) हुने पहिलो सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।