बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं १० ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
स्थानीय डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा वार्ड नं १० ले वार्ड नं ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुदेखि नै वार्ड नं ६ माथि हावी देखिएको वार्ड नं १० को तर्फबाट पहिलो हाफको २१औं मिनेटमा उत्सव राईले टिमका लागि गोलको खाता खोलेका थिए । उनले तीन मिनेटपछि नै अर्को गोल थपे । राईले दुबै गोल अभिषेक गुरुङको पासमा गरेका थिए ।
मध्यान्तरपछि पनि वडा नं १० वडा नं ६ माथि हावी रह्यो । झापा ११ टिमबाट खेलिसकेका खेलाडीहरु समेत रहेको १० नं वडाले दोस्रो हाफको तेस्रो मिनेटमै तेस्रो गोल गर्यो । विमान राईले गोल गरेका थिए भने १०औं मिनेटमा राजकुमार कन्दङ्वाले गोल गरेर टिमलाई ४–० को स्थितिमा पुर्याए । पराजित टिमका मौसम लिम्बूले सान्त्वना गोल गरे ।