काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको चौथो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।
पुलिसले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको कर्णाली २७ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो । कर्णालीका लागि ओपनर शुसान्त थापाले ३० बलमा ५ चौकासहित सर्वाधिक २९ रनको योगदान दिए । त्यस्तै महेश खत्री १७ र दिनेश अधिकारीले १६ रन जोड्न बाहेक कर्णालीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसको कसिलो बलिङसामु कर्णालीका ३ ब्याट्सम्यान डक आउट हुँदा ५ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । कर्णालीलाई सस्तैमा रोेक्न आरिफ शेखले १० ओभरमा ६ मेडन सहित २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै ललित नारायण राजवंशीले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिदा सागर ढकाल, पवन सरार्फ र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट हात पारे ।
त्यसअघि निर्माणधिन मुलपानी क्रिकेट मैदानमा म्याट हालेर खेलाईएको खेलमा ४१ ओभरमा अल आउट हुँदै पुलिसले १८५ रनमा समेटियोे । पुलिसका लागि विकेट किपर दिलिप नाथले सर्वाधिक ७२ रनको योगदान दिदै मध्यम योगफल सम्म पुर्याउन महत्वपूर्ण योगदान दिए ।
३८ ओभरको पहिलो बलमा रविन्द्र शाहीले टेक मगरबाट क्याच आउट गराउनु अघि नाथले ८४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कुशल भुर्तेलले ६२ रनको महत्वपूर्ण रन बटुले । भुर्तेलले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
कुनै समय ८.५ ओभरमा २२–५ को कमजोर अवस्थामा पुगेको पुलिसलाई छैटौं विकेटका लागि भुर्तेल र नाथले १ सय ३९ रनको शतकीय साझेदारी गर्दै सस्तैमा समेटिनबाट बचाएका थिए । पुलिसका ओपनर अनिल कुमार शाह शुन्य, पवन सरार्फ ३, अमित श्रेष्ठ ५, दिपेन्द्र सिंह ऐरी ९, आरिफ शेख २, ललित नारायण राजवंशी ८, सागर ढकाल १, कप्तान अमित श्रेष्ठ २ रनमा आउट हुँदा ललितसिंह भण्डारी ३ रनमा अविजित रहे ।
कर्णालीका सुदन पोखरेलले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । दिवान पुन २,दिनेश अधिकारी र कप्तान रविन्द्रजंग शाहीको नाममा समान १ विकेट रह्यो ।