सिड्नी । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको साझा संस्था हो, गैरआवासीय नेपाली संघ । यतिबेला गैरआवासीय नेपाली संघमा चुनावी सरगर्मी बढेको छ । केही मुलुकमा नयाँ नेतृत्व चुनिइसकेको छ । केही देशमा निर्वाचन वा सर्वसम्मतको पहल भइरहेको छ ।

विश्वमै सबैभन्दा बढी गैरआवासीय नेपाली सदस्य रहेको मुलुक अस्ट्रेलिया हो । १२ हजार हाराहारी सदस्य रहेको अस्ट्रेलियामा यही जुलाई ६ तारिख गैरआवासीय नेपाली संघको चुनावी कार्यक्रम तय भएको छ ।

दुई वर्षे कार्यकालका लागि अस्ट्रेलियाका नेपालीमाझ लोकप्रिय र चर्चित रहेका समाजसेवी तथा व्यवसायी दिनेशकुमार पोखरेलले आफ्नो सशक्त उम्मेदवारी प्रस्तुत गरेका छन् । ‘समुदायका लागि हरपल, समावेशी एनआरएन’ र ‘नेपालीद्वारा नेपालीका लागि’ भन्ने मुल नाराका साथ पोखरेलको नेतृत्वमा समावेशी टिम चुनावी मैदानमा छ ।

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा निवासी अन्तर्राष्ट्रिय झापाली समाजको निर्वाचित अध्यक्ष हुन् । विगत १४ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका उनले यसअघि अन्तर्राष्ट्रिय झापाली समाज अस्ट्रेलियाको संस्थापक अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।

उनीसँग एनआरएन अस्ट्रेलियामा एक कार्यकाल प्रवक्ता (२०१३-२०१५) र अर्काे कार्यकाल उपाध्यक्ष (२०१५-२०१७) को जिम्मेवारी सम्हालेको अनुभव पनि छ । त्यस्तै, न्यु साउथ वेल्स राज्यको संयोजक, नेपाल फेस्टिबलका सिड्नी संयोजक, सोसियल वल्फियर फन्डको संयोजकको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन् ।

प्रवासमा रहेर पनि सदैव आफ्नो मुलुकको विकास र श्रीबृद्धिमा सोचिरहने र सकारात्मक एवम् सिर्जनात्मक काममा सदैव सहयोग गर्ने उनको परिचय समाजसेवी र व्यवसायीको रुपमा मात्र सीमित छैन । पोखरेलकै पहलमा अन्तर्राष्ट्रिय झापाली समाजमार्फत झापाको कमल गाउँपालिकामा बाढी प्रभावितका लागि ४० लाख रुपैयाँभन्दा बढीको लागतमा करिब एक दर्जन घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै, झापा गोल्डकपमा उपलब्ध हुँदै आएको दोस्रो पुरस्कारबापतको छ लाख ५० हजार रुपैयाँ पनि उनै सामाजिक व्यक्तित्व पोखरेलको अगुवाईमा समाजले प्रदान गर्दै आएको छ । उनले चौथो मेचीनगर गोल्डकपलाई पनि व्यक्तिगत रुपमा ७५ हजार रुपैयाँ दिएका थिए । अब एनआरएनए अध्यक्ष पदमा विजयी भएपछि समग्र मुलुकको विकास र समाजसेवामा समर्पित हुने पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

उनी सफल चलचित्र निर्माता समेत हुन् । उनले निर्माण गरेका चलचित्र ‘नाइँ नभन्नु ल २’, ‘नाइँ नभन्नु ल ४’, ‘भुलभुलैया’, ‘राधा’ लगायत चर्चित छन् । उनले अन्तर्राष्ट्रिय व्यापार विषयमा युनिभर्सिटी अफ वेस्टर्न सिड्नीबाट स्नातकोत्तर गरेका छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आगामी कार्यकालका लागि पोखरेलको नेतृत्वमा समावेशी समूह घोषणा भएको छ । पोखरेललाई अध्यक्षमा उम्मेदवार बनाइने र अन्य विभिन्न पदहरुमा समेत विभिन्न पेसा, व्यवसायमा आबद्ध रहेका नेपालीलाई समेटेर अघि बढ्ने जमर्को गरेको उक्त समूहले जनाएको छ ।

पोखरेलको लोकप्रियता नेपालीमाझ निक्कै नै रहेकाले उनको र प्रतिद्वन्द्वीको अनुपात ६०-४० को रहेको बताइन्छ । सामाजिक सेवाभाव अत्यधिक रहेकाले पोखरेल अधिकांश नेपालीका बीचमा सर्वमान्य उम्मेदवारको रुपमा देखिएका छन् ।

यसैबीच, सिड्नीको अलउडमा गत शनिबार भएको भेलाले गरेको निर्णयअनुसार अस्ट्रेलियामा बसोबास गर्ने सबै क्षेत्र, समुदाय, जनजातिलाई समेटेर समावेशी समूह बनाएको अध्यक्षका प्रत्यासी पोखरेलको भनाइ छ ।

समावेशी समूहबाट एनआरएन अस्ट्रेलियाको अध्यक्षमा पोखरेल, महासचिवमा सन्तोष दाहाल, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा कपिल पाण्डेले दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै, युवा संयोजकमा विनोद पौडेललाई उम्मेदवार बनाइने भएको छ । आइसिसी सदस्यमा चोलाकान्त भुसाल, समिम अनवर, अशोक केसी, राजु मानन्धर, शम्भु कँडेल, निराजन गौलीको उम्मेदवारी रहेको छ ।
भेलाले न्यु साउथ वेल्समा देवबहादुर गुरुङ, ब्रिसबेनमा धीरेन्द्र थापा, साउथ अस्ट्रेलियामा रेनुका लामा, वेस्टर्न अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ, भिक्टोरियामा महेन्द्र कार्कीलाई संयोजक एवम् उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुका समस्या र पीडामा सदैव लागिपर्ने पोखरेल नेपालबाट गएका नेपालीले दुःख पाउने भनेको प्रारम्भिक समयमा मात्र रहेको बताउँछन् । ‘आफन्त वा चिनजानको कोही व्यक्ति छैनन् भने समस्या हुन्छ’, उनले भने, ‘सुरुवाती अवस्थामा जागिर नपाउँदा पनि समस्या हुन्छ । समग्रमा भन्नु पर्दा अन्य देशको तुलानामा अस्ट्रेलियामा नेपालीको रहनसहन, बसाई, रोजगारी लगायतका सम्पूर्ण कुरा एकदमै राम्रो छ ।’

अस्ट्रेलियामा नेपाली संघसंस्थाहरु धेरै भए पनि एनआरएनए सबैको साझा संस्था हो । ‘त्यसबाहेक पनि केही जिल्लाका आआफ्नै संघसंस्था छन् । न्यु साउथ वेल्स राज्यमा मात्रै ५० भन्दा बढी संघसंस्था छन्’, उनले भने, ‘अस्ट्रेलियाभरिको कुरा गर्नु पर्दा सयभन्दा बढी छन् ।’

अस्ट्रेलियामा १ लाखको हाराहारीमा नेपाली छन् । कलाकारलाई ल्याएर गरिने कार्यक्रम होस् या फन्ड रेजिङ कार्यक्रम होस्, नेपालीहरुको ठुलो सहभागिता हुन्छ । यी सबै कार्यक्रममा पोखरेलको सक्रिय सहभागिता रहँदै आएको छ । स्थानीय समुदायसँग नेपालीको सम्बन्ध राम्रो बनाउन पनि पोखरेलले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।