झापा । मेचीनगर खेलकुद विकास समितिले १२औ गणतन्त्र दिवसको अवसर पारेर प्रथम मेचीनगर खेलकुद महोत्सव–२०७६ सुरु गरेको छ । प्रतियोगिताको उद्घाटन मचीनगर प्रमुख विमल आचार्यले गर्नु भएको थियो ।
खेलकुद महोत्सवको उद्घाटन खेलको रुपमा बुधबार मेचीनगरको चारआली देखि धुलाबारी सम्म खुल्ला महिला तथा पुरुष म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । म्याराथनमा जन प्रतिनिधि, कर्मचारी, शिक्षक, समाज सेवी, विद्यार्थीलगायतले सहभागीता जनाएका थिए ।
पाँच किलोमिटरको दूरीको प्रतियोगितामा पुरुषतर्फ १७.८८ मिनेटमा दूरी पार गर्दै अन्जित दर्जी प्रथम, १८.०२ मिनेटमा दूरी पार गर्दै भुपेन्द्र राई द्वीतीय, १८.८१ मिनेटमा दूरी पार गर्दै सन्देश खवास तृतीय, १९.०४ मिनेटमा दूरी पार गर्दै रविन राउत चौथो र २०.०३ मिनेटमा दूरी पार गर्दै तागेश आङ्गदाम्बे पाचौं भए ।

त्यसैगरी महिलातर्फ २१.२३ मिनेटमा दूरी पार गर्दै भवानी कामत प्रथम, २१.३१ मिनेटमा दूरी पार गर्दै सन्ध्या द्वीतीय, २१.५० मिनेटमा दूरी पार गर्दै रितु मल्लीक तृतीय, २२.४८ मिनेटमा दूरी पार गर्दै सचिता तामाङ चौथो र २४.३६ मिनेटमा दूरी पार गर्दै दृष्टि खड्का पाचौं भइन् ।
सफल भएका धावकहरुलाई समापन कार्यक्रममा नगदसहित पुरस्कार वितरण गरिने आयोजक समितिकी सदस्य भूमिका सुब्बाले जानकारी दिइन् ।
महोत्सवको उद्घाटन सत्रमा प्रमुख अतिथि नगर प्रमुख विमल आचार्यसहित उपप्रमुख मिना उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामना दिएका थिए ।
मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष नविन बरालको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव अनन्त वस्तीले गरेका थिए । जेठ १५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता जेठ २३ गते समापन हुनेछ ।