फिदिम । पाँचथरका अधिकांश स्थानीय तहका जनप्रतिनिधि योजना छनोटमा अलमल देखिएका छन् ।

जनप्रतिनिधिले अल्पकालीन तथा दीर्घकालीन योजनालाई प्राथमिकीकरण गर्न नसक्दा जनअपेक्षा अनुसारको परिणाम देखाउन नसकेका हुन् । स्थानीय सरकारले पाएको पाँच वर्षको अवधिमध्ये २ वर्ष पुरा हुन थालेको छ ।

पाँचथरका स्थानीय तहले ५ वर्षको अवधिमा के गर्ने भन्ने अन्योलताका कारण जनप्रतिनिधी र कर्मचारीहरु समेत कुहिराको कागजस्तै बनेका छन् । अहिले कतिपय पालिकाहरु विभिन्न रणनितीक योजना बनाउन थालेका छन् ।

पाँचथरको याङवरक गाउँपालिकाले पहिलो पञ्चवर्षीय आवधिक योजना निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । पञ्चवर्षीय योजनालाई आधार बनाएर आगामी वर्षको बजेट निर्माण गर्ने याङवरक गाउँपालिका उपाध्यक्ष तथा निर्देशक समिती संयोजक कमलकुमारी योङहाङ बताउँछन् ।

हिलिहाङ गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता दिन खोजेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाल बताउँछन् ।

फिदिम नगरपालिकाले यस वर्ष फिदिम नगरपालिकाका १४ वटै वडा जोड्ने रिङ रोडलाई जोड्ने, कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथामिकता दिने तयारीमा रहेको मेयर ओनाहाङ नेम्बाङ बताउँछन् । अधिकांश गाउँपालिकाले महत्वपूर्ण र जरुर आवश्यकतालाई समेटेर योजना बनाउन सकिरहेका छैनन् ।

धेरैजसो बजेट सडक निर्माणमा लगाएकाले जनताका अन्य विषयहरुले खासै प्राथमिकता पाउन सकेका छैनन् ।अलमल बनेर बस्नुभन्दा पहिले अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरी त्यसकै आधारमा अगाडि बढे मात्र काम प्रभावकारी हुन सक्छ ।