विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत एक विद्यार्थीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भयो । तर, बालकका आफन्तले भने समयमै अस्पताल नपुर्‍याउनु विद्यालयको लापरवाही मान्छन् ।

मकालु मोरङ स्कुलको कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको मृत्यु भएको हो । घटना मंलगबारको हो । कानेपोखरी–५ जहदामा हजुरआमासँग बस्दै आएका माझीले दिउँसो टिफिनमा खाजा खाएपछि विरामी परेका थिए । आर्यनले टाउको दुख्यो भन्दै बान्ता गरेपछि शिक्षकले अफिसमा लगेका थिए । त्यहाँ पनि उनले पटकपटक बान्ता गरे ।

नजिकै मेडिकल हलहरु भए पनि शिक्षकले लगेनन्, आफै फ्लेक्जोन खुवाए । औषधी खुवाएर प्रिन्सिपल टेइन्द्रकुमार बास्तोला कक्षा कोठातर्फ लागे । ४० मिटेको कक्षा सकिएपछि अफिस आउँदा आर्यन बेहोस भइसकेका थिए । उनले अस्पताल लैजान एम्बुलेन्स बोलाए । बच्चा विरामी भएको डेढ घण्टापछि साढे ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइयो । एक घण्टाको प्रयासपछि अस्पतालले बालकलाई मृत घोषणा गर्‍यो ।

११ वर्षिय बालक मावलमा बसेर पढ्दै आएका थिए । उनका बुबा सम्पर्कबिहीन छन् भने आमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेकी छन् । मावली हजुरआमासँग बसेर अध्ययनरत रहेका बालकको स्वास्थ्यमा स्कुलले चासो नदिँदा ज्यान गएको स्थानीय बताउँछन् । ‘बच्चा १ः४० मा विरामी भएको तर, साढे ३ बजे मात्र एम्बुलेन्स बोलाएर अस्पताल लगे’, स्थानीय बालकुमार राई भन्छन्, ‘स्कुलले केयरलस गरे जस्तो लाग्छ ।’

कानेपोखरी गाउँपालिका– ५ का वडा अध्यक्ष चरण गुरुङ विरामी अवस्थामा अफिस आएको बच्चालाई उपचार गर्न लैजान ढिलो गरेको बताउँछन् ।

स्थानीयबासीका अनुसार स्कुलदेखि करिब ६०० मिटर पूर्वतर्फ रमाइलो बजार छ, जहाँ औषधि पसल र चिकित्सकिय सेवा प्रवाह गर्ने मेडिकल हलहरु छन् । बालक विरामी हुँदा मेडिकल हल नलगेर आफैं औषधि दिएर अफिसमा राख्नु गल्ती भएको उनीहरु बताउँछन् ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्टराईका अनुसार बालकको मृत्यु भएपछि उनका मामा टेकबहादुर माझीले अनुसन्धानका लागि जाहेरी दिएका छन् । ‘बच्चा टिफिनमा खाजा खाइसकेपछि विरामी भएको देखिन्छ’, उनी भन्छन, ‘एक–सवा घण्टापछि एम्बुलेन्स ल्याएर धरान लगेको रहेछ ।’

उनी समयमै उपचारका लागि लगेको भए बाच्न सक्ने अवस्था रहने बताउँछन् । बच्चाको मृत्यु भएपछि अनुसन्धान सुरु गरेको बताउ“दै उनले पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताए ।

अस्पतालले प्रारम्भीक रुपमा चिउरा स्वासनलीमा अड्किएर मृत्यु भएको बताएको छ ।

मकालु मोरङ इङलिस स्कुलका प्रिन्सिपल टेइन्द्रकुमार बास्तोलाले पनि आर्यन विरामी भएपछि अफिसमा ल्याएर फ्लेक्जोन औषधि आधा खुवाइएको स्वीकार गर्छन् । बच्चालाई औषधि दिएर एक घण्टी पढाएर फर्कदा अवस्था बिग्रिएपछि अस्पताल लगिएको उनले बताए ।

नजिकै मेडिकल हल भए पनि स्कुलमै प्राथमिक उपचारका सामाग्री भएकाले दिइएको उनले बताए । ‘गर्मीमा ३–४ जना विद्यार्थी विरामी पर्छन्’, उनी भन्छन्, ‘सबैलाई अस्पताल लैजान पर्दैन । प्राथमिक उपचार गर्न तालिम लिएका शिक्षक छन् ।’ अनलाइन खबरमा खबर छ ।