डाँगीबारी । प्राविधिक ज्ञान लिन इच्छुक तर समय र अवसर नपाएका बाह्रदशी गाउँपालिकाको ७ नम्बर वडाका बुहारीहरुलाई कम्प्युटर तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाको महिला लक्षित कार्यक्रमबाट ७ नम्बर वडाका २० जना बुहारी (महिला)लाई तालिम प्रदान गरिएको हो । वडास्तरीय महिला समितिको आयोजनामा भएको तालिम शुक्रबार सकिएको छ ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले तालिम प्रभावकारी भएको बताउँदै आउँदो आर्थिक वर्षमा थप बजेट विनियोजन गरेर डिप्लोमा कोर्सको तालिम गराउने बताए । ५० हजार बजेटबाट त्यहाँका महिलालाई समितिले तीन महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरेको हो ।

कार्यक्रममा उपप्रमुख रत्नकुमारी राजवंशी, ७ नम्बर वडाध्यक्ष मित्रराज भट्टराई, गौरीशंकर माविका प्रअ लेखनाथ कटुवाल, बाल क्लबकी अध्यक्ष अनिषा उप्रेती, सहभागीका तर्फबाट खोमा रेग्मीले आफ्ना भनाइ राखेका थिए । समितिकी अध्यक्ष सीता चौधरीको अध्यक्षताम भएको कार्यक्रममा स्वागत सचिव मनकुमारी श्रेष्ठले गरेकी थिइन् ।