दमक । झापाको कमल गाउँपालिकामा विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने एक विद्यालयका प्रधानाध्यापकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 

कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई निर्घात कुटपिट गरेका थिए  । उनले मंगलबार आफ्नै कार्यकक्षमा ल्याएर कुटेका हुन् ।

 

कुटपिट गर्ने प्रधानाध्यापक बगालेलाई पीडित विद्यार्थीको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए ।

 

यद्यपि, पीडितबाट जाहेरी भने नआएको उनले बताए । ‘जाहेरी आएको छैन । तर, हामीले शिक्षकलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘बालिकाको पिँडुलामा निलडाम छ । उपचारका लागि अस्पताल पठाएका छौँ ।’

 

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापक बगालेले कुटपिट गरेको ती बालिकाले बताइन् । ‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले थोरै भएन र! भनेर कमेन्ट गरेकी थिएँ’, निर्जलाले भनिन्, ‘मंगलबार स्कुलको अफिसमा हेडसरले खानेपानीको नाला (पाइप)ले खुट्टामा कुट्नुभयो ।’

 

कुटपिटबाट बालिकाको खुट्टामा निलडाम भएको छ । कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उनलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गरेकी छन् ।