चाँदनी कर्माचार्य
हिजोआज किशोरावस्थाका बालबालिकाहरूमा अनावश्यक वादविवाद गर्ने, झगडा गर्ने, भनेको कुरा नमान्ने, आमाबुसँग कडा स्वरमा झर्केर बोल्ने लगायतका प्रवृत्ति देखिन्छ । अचेलका बालबालिका न आफ्ना आमाबाबुले भनेका कुराहरू मान्न तयार हुन्छन् न कुनै जिम्मेवारी वहन गर्न चाहन्छन् ।

आमाबाबुहरू बच्चाहरूको उज्ज्वल भविष्यका लागि कडा मेहनत गर्दागर्दै पनि यस्तो स्थितिमा निराश हुनु स्वाभाविक हुन्छ । त्यसैले यस्ता कुराहरूमा प्रत्येक आमाबाबुले विशेष सतर्कता अपनाउनु पर्छ । छुट्टीको दिन जब आमाले आफ्नो १२ वर्षीय छोरा विक्रमलाई घरबाहिर साथीकहाँ खेल्न जाँदा रोक्छ तब विक्रमले आफ्नी आमालाई जवाफ दिन्छ, तपाई त कस्ती छुच्ची । मेरो इच्छा लागेको खेल पनि खेल्न जान नदिने रु यसरी छोराले आफूलाई छुच्ची शब्द निकालेर रिसाउँदा उनीलाई धेरै रिस उठ्छ । तर, छोरालाई सम्झाउँदै भन्छिन्, ‘विक्रम तिमी सानै छौ, यो उमेरमा तिमी ठूलो व्यक्ति सरह बाहिर खेल्न जानु हुँदैन ।’

बाटामा गाडी र मोटरसाइकलहरू गुडिरहेका हुन्छन्, दुर्घटना हुन सक्छ । तिम्रै लागि भनेकी हुँ । तर तिमीले मलाई उल्टै छुच्ची भनेर गाली ग¥यौं । जबसम्म तिमी आफै सम्हालिन सक्दैनौं तबसम्म तिमीले आफ्नोे गलत काम रोक्न सक्नु पर्दछ । तर, मैले भनेको कुरा कहिल्यै मान्दैनौ, उल्टै मलाई जवाफ दिन्छौं ? के असल बालबालिकाले यस्तो काम गर्छन् ? आमाको यस्तो कुरा सुनेर विक्रम चुप भयो र आफ्नो गल्ती महसुस ग¥यो । बेलाबेलामा विक्रम जस्ता बच्चाहरूको गल्ती बताएर उनीहरूको बानी सुधार्न अति आवश्यक छ ।

यस्तो बानी सुधार्न सकिएन भने यसले विकराल रूप लिन्छ । जसले बच्चाहरू झगडालु, जिद्दी स्वभावको भई सुधार्ने नसकिने अवस्थामा पुग्छन् । त्यसैले हेरक आमाबाबुले सही र गलत के हो आफ्ना छोराछोरीको हरेक बानीको विचार गरी उनीहरूलाई गल्तीको महसुस गराइरहनु पर्छ ।

यस्तै किशोरावस्थाका बच्चाहरूलाई प्रेम र आत्मीयका साथ माया गर्नु आवश्यक छ । १६ वर्षीया छोरी राति ढिलो घर फर्केको देखेर उनको बुबाको रिसको सीमा रहेन । बुबाले भन्नुहुन्छ, छोरी तिमी त केटी मान्छे हो । यसरी ढिला आउने हो ? छोरीलाई रिस उठ्छ र भन्छिन्, ‘बुबा, यस्तो आधुनिक जमानामा पनि छोरा र छोरीमा भेदभाव गर्नु हुने ? यस्तो पुरानो सोच हटाउनुस् ।’

छोरीको यस्तो बोली सुनेर बुबालाई रिस त उठ्छ । तैपनि बुबाले सानो स्वरमा छोरी भोलि तिमीलाई पछुतो हुन्छ । अहिले तिमी आफ्नो कोठामा जाऊ । यस विषयमा भोलि कुरा गरौंला भनेर सम्झाउँदा राम्रो हुन्छ ।

यी उदाहरण मात्र हुन् । खास गरी यस्तो बेलामा किशोरकिशोरीहरूसित बहस नगर्नु नै राम्रो हुन्छ । उनीहरूको मनस्थिति ठीक नभएको अवस्थामा बहस गरिरह्यो भने उल्टै परिस्थिति बिग्रन सक्छ । यस्तो स्थितिमा अर्को दिनका लागि तर्कवितर्क स्थगित गर्नु आवश्यक छ ।

अर्को दिन बुबाले सम्झाउन थाले, छोरी हिजो के काम प¥यो र किन ढिलो आएकी ? मैले के नराम्रो कुरा गरें र तिमीले मलाई पुरानो र नयाँ जमानाको कुरा ग¥यौं । राति ढिलो घर आउने तिमी, मलाई उल्टै आधुनिकताको कुरा सिकाउने ? बुबाको कुरा सुनेर छोरी आफ्नो भनाइप्रति गल्ती महसुस गर्छिन् र माफी माग्दै भन्छिन्, ‘बुबा हिजो मैले गल्ती गरेको रहेछु । मैले हजुरले भनेको कुरा नमानेर चित्त दुखाएछु । त्यसका लागि क्षमा चाहन्छु । अब यसरी गल्ती हुँदैन, बुबा ।’

बच्चाहरू जानीबुझी कहिल्यै यस्तो गल्ती गर्दैनन् । यसको पछाडि धेरै कारण छन् । जस्तै खराब साथीभाइको संगत, आमाबुबाले चाहिनेभन्दा बढी स्वतन्त्रता दिनु आदि । आमाबुबाले उनीहरूको स्थिति हेरेर सम्झाउने गर्नु पर्दछ । बच्चाहरूलाई आमाबुबाले आफ्नो भावनाको कदर गर्छन् भन्ने महसुस होस् ।

आफ्नै घरपरिवारबाट पनि बच्चाहरूलाई अनुकूल वा प्रतिकूल प्रभाव पर्न सक्छ । जब बच्चाहरूले आफूभन्दा ठूला सदस्यबीच झगडा गरेको र झर्केर बोलेको देखेर पनि आफूले त्यस्तै सिकेको हुन सक्छ । त्यसैल समस्याको मुख्य कारण पत्ता लगाउनु अभिभावकको प्रमुख कर्तव्य हो । आमाबुबाद्वारा बच्चादेखि नै राम्रो संस्कार, उचित अनुशासन र प्रेमपूर्वक उनीहरूलाई असल बनाउने वातावरण तयार पार्न सक्नु पर्दछ । सानै उमेरदेखि राम्रो शिक्षा र संस्कार दिन सक्यौ भने जुनसुकै बच्चाहरू पनि नराम्रो बानीबाट टाढै रहन सक्छन् ।

(लेखक मेरिडियन इन्टरनेसनल स्कुलकी शिक्षिका हुनुहुन्छ ।)