बिर्तामोड । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बविता आचार्यले हात पारेकी छिन् ।

ग्रेस इभेन्टको आयोजनामा बिर्तामोडमा सञ्चालन भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै आचार्यले ताज पहिरिएकी हुन् । शनिबार राति सम्पन्न प्रतियोगितामा मिस ग्रेस टिन झापाको उपाधिसँगै आचार्यले मिस ट्यालेन्टको उपाधिसमेत प्राप्त गरिन् ।

त्यस्तै प्रतियोगिताको फस्ट रनर अप र मिस कन्फिडेन्टको उपाधी बिर्तामोड ३ की अलिसा पोखरेलले प्राप्त गरिन् भने सेकेण्ड रनरअप र मिस क्युपिड फोटो जेनिकको उपाधी बिर्तामोड २ की रोश्नी राईले प्राप्त गरिन् ।

प्रतियोगिताको निर्णायकहरुमा रङ्गकर्मी माधव कल्पित खतिवडा, अधिवक्ता कविता शर्मा, सञ्चारकर्मी लीला अनमोललगायत रहेका थिए ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्य तथा ग्रेस इभेन्ट झापाकी अध्यक्ष कृतिका शिवाकोटीको अध्यक्षतामा प्रतियोगिताको फिनाले भएको हो । सांस्कृतिक कार्यक्रम समेत गरिएको कार्यक्रमको सञ्चालन सेलिसा उप्रेतीले गरेकी थिइन् ।