बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरोविरुद्ध सामाजिक सचेतना अभियान संचालन सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइकीङ द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान थालिएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत दिपक सापकोटाले बताएका छन् ।

पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा देखा परेको यस ज्वरो विरुद्ध कुनै खोप नरहेकोेले सचेत रहनु तथा यस रोगको लक्ष्यण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जानुनै सबैभन्दा उपयोगी हुने सापकोटाले बताए । प्रचार प्रसारका क्रममा विभिन्न क्षेत्रका स्थानीयहरुले जनचेतना मुलक प्रचार प्रसार भन्दा पनि गरिब तथा विपन्न वर्गलाई झुल बाड्दा तथा डेंगु ज्वरो लाग्ने लाम्खुट्टेको विरुद्ध दबाई हान्नु पर्ने माग राखेको प्रचार प्रसारका क्रममा खटिएका कर्मचारी दिपेश भट्टराईले बताएका छन् ।

पहिलो चरणमा प्रचार प्रसार गरेर डेंगु ज्वरो विरुद्ध जनचेतना फैलाएको तथा आगामी दिनमा यस ज्वरो विरुद्ध थप प्रभावकारी कदम चालिने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताएका छन् । उनले डेंगु रोग सरसफाईको अभावका कारण लाग्ने भएको हुँदा सरसफाईमा ध्यान दिन सबैमा आग्रह गरेका छन् । उनले विषेशगरि सवारी साधनका टायरमा पानी जम्मा हुने र लामखुट्टे लाग्ने हुँदा सचेतना अभियानमा घरघरमा सरसफाई राख्न र खाल्डाखुल्डीमा पानी जम्न नदिन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।