दिप्सन लुइँटेल,
मोवाइल पसलमा घन्किरहेको थियो, ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला ।’ पसलको अघिल्तिर हिँड्दै थिइन्, मेलिना राई । साथमा थिइन् बहिनी । यो कुरा ०७२ साल वैशाखको हो । भूकम्पपछिको पराकम्प आउने क्रम रोकिएको थिएन । सबै मानिस घर छाडेर बाहिरै सुत्थे । खुला ठाउँमा पाल टाँगिएको थियो । मान्छेहरु सडकभरि थिए । त्यही भिडमा थिइन्, चर्चित गायिका मेलिना राई ।

आफ्नै आवाजको गीत घन्किरहेको सुन्दा उनको चञ्चलता बढ्यो । ‘सुन न’ बहिनीलाई कोट्याएर भनिन्, ‘मेरो गीत बजिरहेको छ तर, मैले गाएको भनेर यहाँ भएका कसैलाई थाहा छैन है ।’ हो पनि, सिनेमाको पाश्र्व ध्वनी, टेलिभिजन, एमफएममा मात्र भेटिने मेलिनालाई न कसैले चिन्थे, न कसैले बोलाउँथे ।

तर, ‘कम्मरमाथि पटुकी’ को लोकप्रियताले उनी सार्वजनिक भीडबाट अलप भए पनि एकाएक सेलिब्रेटी पो भइन् । ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतले मेलिनालाई गतिशील बनाइदियो । कहिले स्टेजमा, कहिले रेकर्डिङमा । यस्तो पनि समय आयो, एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने ।

युट्युवमा हेरौं, मेलिनाको गीतले १० करोड भ्युज नाघेको छ । सिनेमामा खोजौं, पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ । सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । गायनका लागि सर्वाधिक खोजिनेमा उनकै नाम आउँछ । मेलिना राईको यो सफलताले सबैभन्दा बढी गदगद कसलाई बनाएको होला ? निसन्देह उनका पिता जिवेश राईलाई ।

जिवेश आफैं संगीत प्रशिक्षक हुन् । छोरीहरुलाई आफूले बनाएको ट्र्याकमा डो¥याउने उनको सुषुप्त ईच्छा त्यसैबेला प्रकट भएको हो, जतिबेला उनी दुई छोरीलाई कठोर संगीत साधना दिइरहेका हुन्थे ।

‘दंगल गर्ल’ जस्तै

मेलिना राईको कथा हिन्दी चलचित्र ‘दंगल’का पात्रको जस्तै लाग्न सक्छ । दंगलका पहलमान पात्रले आफ्नो अतृप्त इच्छा दुई छोरीहरुबाट पूरा गराउन कठोर साधना गराउँछन् र आफ्नो जीवनको बाजी जिताउँछन् ।

यतिबेला जिवेश राईले पनि आफ्नो जीवनको बाजी जितेका छन् । छोरीका खातिर उनले जति कठोर संघर्ष गरे, त्यसको नतिजाले आज उनको छाति गर्वले फुलेको छ ।

दार्जीलिङमा आमा, बुवा र बहिनीसहित मेलिना राईको चार जनाको परिवार थियो । घरको नियम निकै कडा । घडीले बिहानको चार बजेको संकेत गर्नसाथ हत्तपत्त ओछ्याउन छाड्नुपर्ने । अल्छी लाग्थ्यो । निद्रा पुगेकै हुँदैनथ्यो । त्यसै त जाडो ठाउँ । एकाबिहानै न्यानो ओछ्यान छाड्ने मन कहाँ हुन्छ र ? तर, ओछ्यान छाड्नैपथ्र्यो । नभए चिसो पानीमा भिज्न तयार हुनुपथ्र्यो वा सिर्कनाको कुटाई खान तयार हुनुपर्थ्यो वा गाली ।

घाम झुल्कनुअघि नै मेलिना उठ्थिन् । फ्रेस भएपछि सारेगम अलाप्नुपर्ने । सुर ताल मिलाउनुपर्ने । संगीत साधना गर्नुपर्ने । ‘बच्चालाई स्कुलको होमवर्क जति गाह्रो हुन्छ नि, त्योभन्दा गाह्रो हुन्थ्यो’, हँसमुख मेलिनाले बाल्यकाल सम्झिइन् ।

उठ्ने मात्र होइन, संगीत सिक्न घरमा केही सर्त पालना गर्नुपर्थ्यो । सर्त थियो, बिहान चारबजे उठ्नैपर्ने । चिल्लो खान नहुने । फेन्टा बाहेक चिसो पिउन नपाइने । पाउ तितौरा खान नपाइने । भड्किलो लुगा लगाउन नपाइने ।

‘सकेसम्म घाँटीदेखि पाउसम्मै लुगा होस् भन्ने उहाँको चाहना हुन्थ्यो’, मेलिना भन्छिन्, ‘हामीले बुवाको कुरालाई मानिरह्यौं ।’

कोरस गायनबाट करियर

मेलिनाले १२ वर्षको उमेरमै पहिलो गीत रेकर्ड गराएका थिइन् । आफ्नै बुबाको शब्द रचना तथा संगीत रहेको गीत ‘हिमालको काखमा छ मेरो सुन्दर देश’मा स्वर दिने मौका पाएकी थिइन् । गीतमा मेलिनासहित ७ जनाको स्वर थियो ।

त्यसपछि ०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा मेलिना राई प्रथम भइन् । संगीत क्षेत्रमा उनको नाम गाइँगुइँ सुरु भएको थियो । त्यसपछि झण्डै ७ वर्षसम्म गीतको कोरसमा आवाज दिइन् । तर, उनी कोरसमा मात्र सीमित भइनन् । फाट्टफुट्ट सोलो गीत रेकर्ड गराउन थालिन् । बेलाबेला अग्रज कलाकारहरुका साथमा स्टेज चढ्ने अवसर पाइन् । गीत हिट भएपछि।

कोरस र फाटफुट गीतहरु रेकर्ड गराइरहेकी मेलिनाले ताराप्रकाश लिम्बुको चिनजानबाट चलचित्र ‘नोभेम्बर रेन’को गीत ‘पल भर मै खुसी’ गाउने अवसर पाइन् ।

गीत एकदमै हिट पनि भयो । यो उनको पार्श्व गायनमा डेब्यु गीत थियो तर, मेलिनाको नाम खासै सुनिएन । युवराज चौलागाई र रजिना रिमालको धेरै चर्चा भयो ।

मेलिनाले ताराप्रकाशसँगै मिलेर कलेक्सन एल्बमका गीतहरुमा पनि स्वर दिन थालिन् । त्यही क्रममा वसन्त सापकोटाको संगीतमा पनि एक गीत तयार भयो । त्यहीँबाट मेलिना र वसन्तको चिनजान भयो । उनीहरुको सहकार्यमा ‘कम्मरमाथि पटुकी’ बोलको गीत तयार भयो । यो गीतले भने मेलिन हिट भइन् ।

गीतको सफलताबाट मेलिनाको परिवारमा खुसी छायो । अझ बुबाको खुसी निकै थियो । सानैदेखि छोरीलाई सफल भएको हेर्न चाहने बुबाको सपना केही हदसम्म पूरा भयो । त्यसपछि पनि मेलिनालाई अझै मेहनत गर्न प्रोत्साहन दिइरहे ।

‘तिम्ले बाटो फेरेउ अरे’ बोलको गीत भने मेलिनाको करिअरमा कोसेढुंगा नै सावित भयो । यो गीतबाट मेलिनालाई प्रत्यक्ष चिन्ने मन पराउने स्रोतहरुको संख्या बढायो । अहिले त मेलिनाले धेरै गीतमा आफ्नो स्वर दिइसकेकी छिन् । चलचित्रको गीतदेखि आधुनिक, लोकगीतसम्म आफ्नो स्वर दिएकी छिन् ।

उनकै स्वरमा रेकर्ड भएको गीत ‘कुटुमा कुटु’ ले युट्युबमा सर्वाधिक १० करोड बढी भ्युज पाएको छ । यो सफलताले मेलिनाको करिअरमा कायापलट नै भयो । स्टुडियोदेखि स्टेज कार्यक्रमसम्म उनकै माग छ । मेलिना भन्छिन्, ‘कुटुमा कुटु हिट भएपछि त मलाई स्टेज कार्यक्रमहरुको चापाचाप परिरहेको छ ।’

एकै दिनमा ६ वटा गीत रेकर्ड

मेलिना अहिले स्टेजमा भन्दा पनि रेकर्डिङमा व्यस्त छिन् । दिनमा ६ वटा गीतसम्म रेकर्ड गराएको अनुभव छ । काम नभएको दिन पनि २-३ वटा रेकर्डिङ पर्छ । उनका अनुसार दिनमा ६ वटासम्म गीत रेकर्ड गराउँदा भने निकै गाह्रो हुन्छ ।

फरक-फरक भाकामा गीत गाउनुपर्ने हुन्छ । फरक-फरक स्टुडियोमा पुग्नुपर्ने हुन्छ । कहिलेकाँही त खाजा खाने समय पनि हुन्न । उनी भन्छिन्, ‘एउटै स्टुडियोमा २-३ भयो र अरु अन्त भयो भने त ठिकै हुन्छ । नत्र त निकै दौडधुप हुन्छ ।’

गीतको धेरै अफर आएपछि मेलिनाले शब्दहरु हर्न थालेकी छन् । शब्द मन परेपछि उनी कम्पोजमा खासै चासो राख्दिनन् । भन्छिन्, ‘शब्द राम्रो छ भने म गीत गाउन ‘ओके’ गर्छु । कम्पोजिसन त आ-आफ्नो तरिकामा सबैले राम्रो नै गर्नुभएको हुन्छ ।’ उनी धार्मिक, जातीय तथा लैङ्गिक गीतहरु भने गाउँदिनन् ।

धेरै आश गरेको गीत हिट नहुने तर कुनै आशै नगरेको गीत भने चर्चित हुने गरेको उनको अनुभव छ ।

स्टेज क्विन

‘कुटुमा कुटु’ हिट भएपछि मेलिनाले धेरै स्टेजहरुमा आफ्नो प्रस्तुती दिने मौका पाइसकेकी छिन् । नेपालको प्रायः पूर्वी जिल्लाहरुमा उनी पुगिसकेकी छिन् । पश्चिमका पनि केही जिल्लामा उनले आफ्नो स्वर सुनाइसकेकी छिन् ।

विदेश रहेका नेपालीहरुमाझ पनि उनको आवाज प्रत्यक्ष रुपमा घन्किएको छ । १४ बढि मुलुकमा पुगेर प्रस्तुति दइसकेकी छिन् । हकङक र कोरिया त ४-४ पटक पुगिसकेकी छिन् । स्टेज कार्यक्रममा पुगेर दर्शकलाई नचाउँदा निकै खुसी हुन्छिन्, मेलिना । भन्छिन्, ‘मेरो गीतमा उपस्थित अडियन्स नाचेको, मेरो स्वरमा स्वर मिलाएको देख्दा निकै खुसी लाग्छ ।’

स्टेजमा पुगेर उनले यहीँ गीत गाउने भन्ने छैन । दर्शकको माग अनुसार गीत गाइरहेकी हुन्छिन् । तर, हरेक स्टेज शोमा नछुट्ने गीत हो, ‘कुटुमा कुटु’ । उनी भन्छिन्, ‘यो गीत गाउँदा धेरैचोटि वान्स मोर आइरहेको हुन्छ ।’

आफ्नै कमाइले काठमाडौैंमा घर

कुनै समय मेलिनाले आफ्नो खर्च जुटाउन विद्यालयमा पुगेर नृत्य सिकाउने गर्थिन् । दुईवटा स्कुलमा नृत्य सिकाउँदा उनलाई ५ हजार रुपैयाँ आउँथ्यो । भन्छिन्, ‘आफ्नो खर्च आफैं पुर्‍याउन नृत्य सिकाउँथे । यो रहरभन्दा बाध्यताजस्तै थियो ।’

मामाले ५५ सयमा किनिदिएको साइकल चढेर स्कुलमा पुग्थिन् । मेलिना भन्छिन्, ‘त्यो समय गाडीभाडाको १० रुपैयाँ बचाउनका लागि पनि म साइकलमा नै हिँड्ने गर्थें ।’

अहिले भने मेलिना राईको परिवारले नयाँ घर बनाएको छ । काठमाडौंको गोकर्णमा उनीहरुले नयाँ घर बनाएका छन् । त्यहाँ ठूलो रकम भने मेलिनाको कमाइ परेको छ । मेलिना भन्छिन्, ‘हामी सबै मिलेर नै घर बनाएका हौं ।’ अनलाइन खबरबाट