झापा । झापाको अर्जुनधारा-७ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सञ्चालन परिषद्बाट पुनः सरोजकुमार ओलीको नेतृत्वमा नयाँ सञ्चालन समिति चयन गर्दै आइतबार छात्रवृत्ति अक्षयकोषको पहल गरिएको छ ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षता र प्रदेश नं. १ का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष हेमप्रसाद खरेलले गरेका थिए । कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले र आर्थिक प्रतिवेदन आन्तरिक लेखा परीक्षण समितिका सदस्य प्रेमप्रसाद लुइँटेलले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार गत साउन १ देखि जेठ मसान्तसम्मको जम्मा आम्दानी ९५ लाख २२ हजार ४८७ रुपैयाँ तीन पैसा, जम्मा खर्च ८७ लाख ४२ हजार ५१८ रुपैयाँ तीन पैसा र जम्मा बचत सात लाख ७९ हजार ९६९ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रममा क्याम्पसको परिचयात्मक विवरण पुस्तिका- २०७६को लोकार्पण गरिएको थियो । सोही कार्यक्रमको सन्दर्भमा दाताहरुबाट छात्रवृत्ति अक्षयकोष र नियमित छात्रवृत्तिको लागि रकम घोषणा गरिएको थियो ।

छात्रवृत्ति अक्षयकोषका लागि अर्जुनधारा- ५ का श्रीप्रसाद बिमली, तुलसा बिमली र नमिता बिमलीको परिवारबाट क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष भीष्मराज बिमलीको स्मृतिमा एक लाख रुपैयाँ, अर्जुनधारा- ११ का समाजसेवी बलिराज इङनामबाट एक लाख रुपैयाँ, विनोदकुमार ओली, मोहनप्रसाद ओली, चुँडामणी ओली र ख्यामराज ओलीको परिवारबाट भद्रशिला र खिनादेवी ओलीको स्मृतीमा एक लाख रुपैयाँ, ठाकुरप्रसाद शिवाकोटी, भूवनेश्वर शिवाकोटी, पूण्यप्रसाद शिवाकोटी र हिमालय शिवाकोटीको परिवारबाट नन्दप्रसाद र धनमाया शिवाकोटीको स्मृतीमा ५० हजार रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरिएको थियो ।

त्यसैगरी नियमित छात्रवृत्तिको लागि अर्जुनधारा- ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष प्रेमसागर सापकोटा र नेपाली काँग्रेस नगर सभापति हेमप्रसाद खरेलबाट वार्षिक शुल्कबापत जनही १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, अर्जुनधारा- ६ का वडाध्यक्ष लोकनाथ गौतम, अर्जुनधारा- ७ का वडाध्यक्ष नवराम ढुंगाना, १० नम्बरका वडाध्यक्ष बलदेव गोम्देन, नगर सभा सदस्य कुन्दन भट्टराई, पूर्व जिविस सभापति कृष्णप्रसाद मिश्र, शनिश्चरे-अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक लक्ष्मीप्रसाद रिजालले गरेका थिए ।

यसैबीच सोही परिषद्को बन्दसत्रले पुनः ओलीको अध्यक्षतामा नयाँ सञ्चालन समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हेमप्रसाद खरेल, सदस्यहरुमा आकाश राई, कुसुम राई, ताराप्रसाद उपाध्याय, दीवामाया अधिकारी, भूवनेश्वर शिवाकोटी, महेश ढकाल, मित्रप्रसाद खतिवडा, राधा बुढाथोकी र लवकुश गिरी चयन भएका छन् ।