दमक । अनुसन्धान मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस पूर्व २०१९ को उपाधि इटहरीकी सुप्रिया खनाल र मोरङका मोहन गुरागाईले जितेका छन् । शनिबार दमकको कनकाई रिसोर्टमा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले अन्य १५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।प्रतियोगितामा फस्ट रनरअप बिर्तामोडका दिवस विश्वकर्मा बने भने सेकेन्ड रनरअप मोरङकी सरिता खप्तरी भएकी छन् ।

प्रतियोगितामा सनम खतिवडा, डेबिट आचार्य, दिवस विश्वकर्मा, सुमनिमा कटुवाल, मोहन गुरागाई, सरिता खप्तरी, इशा प्रसाई, सुप्रिया खनाल उत्कृष्ट ८ मा छनोट भएका थिए । नेपालको पर्यटनको विकासका लागि के गर्न सकिन्छ भन्ने निर्णायकले गरेको अन्तिम प्रश्नको लिखित उत्तर दिँदै सुप्रिया र मोहनले उपाधि जितेका हुन् । मिस्टर पब्लिक च्वाइस दमकका साहिल लिम्बू र मिस पब्लिक च्वाइसको उपाधि इलामकी दिपा थापाले जितेकी छन् ।

मिस पूर्व र मिस्टर पूर्वले नेसनल लेभलको ब्युटी प्याजेन्ट मोडल हन्ट नेपाल र मिस्टर एन्ड मिस टिन नेपालमा सहभागी हुने अवसर प्राप्त गरेको इभेन्ट मेनेजर अनुस किरातीले बताए । उनीहरुले म्युजिक भिडियो, इन्डिया टुर्स, स्कलरसिप, मोडलिङ कन्ट्रयाक्ट प्राप्त गरेका छन् । फस्ट रनरअप र सेकेन्ड रनरअपले म्युजिक भिडियो, इन्डिया टुर्स तथा मोडलिङ कन्ट्रयाक्ट प्राप्त गरेको उनले बताए ।

इभेन्टको सम्पूर्ण कोरियोग्राफी एलिसा अधिकारीले गरेकी थिइन् भने कार्यक्रममा निर्णायकको भूमिकामा मिस्टर पूर्वाञ्चल २०१० का विजेता जय शर्मा, नायक कविर खड्का, कलाकार लक्षना राई, हरेन्द्र खत्री र रन्जन धमला रहेका थिए । कार्यक्रममा टाइटल स्पोन्सर रहेको आउटफिट फेसन बिर्तामोडका सञ्चालकद्वय रमेश परियार र उमेश परियारलाई अर्गनाइजर आशिष काफ्ले, पिन्सा राई, प्रियङका गौतम लगायत आयोजक टिमले सम्मान गरेको थियो ।

प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा लगायत विभिन्न ठाउँबाट १८ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ग्रान्ड फिनालेमा भने प्रतिस्पर्धीमध्ये निरुता कार्की सहभागी हुन नसकेको आयोजकले जनाएको छ ।