पार्थ मण्डल,
झापा । भद्रपुर ६ स्थित झापाचोकमा रहेको सन्तोष ट्रेडिङले मिसावट गरी पेट्रोलियम पदार्थ बेच्न गरेको घटना सार्वजनिक भएको छ । नेपाल आयल निगम लिमिटेडको बिक्रेता सन्तोष ट्रेडिङले पेट्रोलमा डिजेल मिसावट गरी बेचेको सवारीधनीको मोटरसाइकलमा खराबी आउन थालेपछि यस्तो घटना सार्वजनिक भएको हो ।

सवारीसाधनको इन्जिनमा खराबीसँगै समस्या आउन थालेपछि सवारीधनिहरु आफ्नो साधन लिएर सन्तोष ट्रेडिङ गएर छाड्न थालेको समेत पाइएको छ । शिवकुमार गुप्ता सञ्चालक रहेको सो पम्पले मिसावट गरेको पेट्रोल बेच्दा सर्वसाधारण जनता, कर्मचारीदेखि प्रहरीले चलाउँदै आइरहेको मोटरसाइकलमा समेत खराबी आएको फेला परेको छ । पम्पले शनिवार दिनभरि बेचेको पेट्रोलमा डिजेल मिसावट थियो । शनिवार पेट्रोल हाल्ने अधिकांश मोटरसाइकल धनीहरू आफ्नो मोटरसाइकलमा आएको खराबीको विषयलाई लिएर पम्पका सञ्चालक र कर्मचारीलाई आक्रोश पोख्न थालिसकेका छन् ।

घटनालाई ढाकछोप गर्न पम्पका कर्मचारीले केही मोटरसाइकललाई धनीलाई निःशुल्क पेट्रोल हाली दिएर पठाएका थिए । नयाँ मोटरसाइकल र इन्जिनबाट धुवाँ फाल्ने मोटरसाइकल धनी चाहिँ मोटरसाइकल बनाइदिनु पर्ने अडानमा देखिएका छन् । मिसावट पेट्रोलका कारण अहिलेसम्म एक दर्जन बढी मोटरसाइकलमा खराबी आइसकेको जनाइएको छ ।

मे ४ प ९७७४ नम्बर मोटरसाइकल धनी इन्ताज शेख, मे ९ प ८६१२ नम्बरका मोटरसाइकल धनी मनान शेख, मे ७ प ९००० नम्बरको मोटरसाइकल धनी गणेश राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरमा कार्यरत प्रहरी कर्मचारी प्रकाश अधिकारीको बा ८० प ४९७६ नम्बरको मोटरसाइकल, भद्रपुर ८ नम्बर वडा कार्यालयका वडा सचिव नेत्रप्रसाद पोखरेलको मे ६ प २१६८ नम्बरको मोटरसाइकलमा खराबी आएको फेला पर्यो ।

यसरी खुल्यो मिसावट भएको घटना
घटना विवरण अनुसार सन्तोष ट्रेडिङका कर्मचारीले दुई पाङ्ग्रे र चार पाङ्ग्रे पेट्रोलबाट चल्ने सवारीसाधनमा गत शनिवार डिजेल मिसावट गरिएको पेट्रोल बेचे । पेट्रोलमा डिजेल मिसावट भएको बारेमा पम्पका कर्मचारीलाई पहिलेदेखि नै थाहा थियो । त्यति हुँदाहुँदै पनि कर्मचारीले मिसावट गरिएको पेट्रोल दिनभर बेच्यो । मिसावट गरिएको पेट्रोल हालेका सवारीधनिलाई त्यस दिन कुनै वास्ता भएन । त्यसको भोलि पल्टदेखि सवारीसाधनको इन्जिनमा समस्या आएको मोटरसाइकल धनी मनान शेखले बताए ।

‘नयाँ मोटरसाइकल किनेको एक वर्ष मात्र भयो, मोटरसाइकल स्टाट गर्दा समस्या आएपछि ग्यारेजमा लगेर म्याकानिकलाई देखाएऔं’, उनले भने, ‘म्याकानिकले लामो समय लगाएर मोटरसाइकल मर्मत गर्यो, तर बन्ने, मोटरसाइकल नबनेपछि म्याकानिकले पेट्रोलमा मिसावट भएर समस्या आएको बतायो ।’

‘पेट्रोलको कारण समस्या आएको थाहा पाए लगतै सन्तोष ट्रेडिङका कर्मचारीलाई पेट्रोलमा मिसावट भएको बारेमा जानकारी गराउँदै मे ९ प ८६१२ नम्बरको मोटरसाइकल त्यही जिम्मा लगाएर फर्कियौँ’, उनले भने । पम्पले पहिलेदेखि नै पेट्रोलियम पदार्थमा मिसावट गरी बेच्दै आएको आरोप लगाउँदै उनले भने, ‘अहिले म आफै परे, पम्पले गरेको कालाबाजारीको विषयमा सम्बन्धित निकायमा उजुरी दिन्छौ ।’

‘मोटरसाइकलमा केही खराबी थिएन, शनिवार सन्तोष पेट्रोल पम्पबाट पेट्रोल हालेपछि इन्जिनमा खराबी आयो, धुवाँ फाल्न थाल्यो’, कर्मचारी नेत्रप्रसाद पोखरेलले भने । पम्पमै भेटिएका पोखरेलले आफ्नो मोटरसाइकलबाट धुवाँ उडाउँदै भने, ‘पम्पले मोटरसाइकल बनाइदिनु पर्छ, यस्तो मिसावट गरिएको पेट्रोल बेच्ने पम्पलाई कारबाही पनि हुनुपर्छ ।’

मिसावट भएको कर्मचारीले स्वीकारे
सन्तोष ट्रेडिङ भद्रपुरमा कार्यरत कर्मचारी ललित करका अनुसार म घर बिदा गएका बेला पम्पको सम्पूर्ण जिम्मा सन्तोष साहलाई दिइएको थियो ।

‘गत शनिवार पम्पमा तेल नहुँदा पेट्रोल र डिजेलको दुई वटा टंयाकरसँगै आएको यहाँ आएर थाहा पाए’, कर्मचारी करले भने । टंयाकरले तेल हाल्दा पेट्रोल भएको टङ्कीमा डिजेल हालिदिए । केही लिटर डिजेल हालेपछि मात्र पम्पका कर्मचारीले पेट्रोलमा मिसावट भइसकेको थाहा पाए । तर, कर्मचारीले मिसावट भएको जानकारी कसैलाई गराएन, त्यही पेट्रोल दिनभर बिक्री गर्दा मोटरसाइकलहरूमा खराबी आएको हो, उनले भने ।

यस बारेमा सञ्चालकलाई जानकारी गराइसकेको छौ, उनी भारत गएको र त्यहाँबाट आएपछि समस्याको समाधान हुन्छ, उनको भनाई छ । यता वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठका अनुसार केही मोटरसाइकल धनीले पम्पमा मिसावट भएको तेल बिक्री गरिरहेको फोन मार्फत जानकारी गराए । ‘अहिलेसम्म कसैले प्रहरीमा उजुरी दिएको छैन’, उनले भने, ‘यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ, सञ्चालक गुप्ता भारत गएकोले केही कुरा हुन सकेको छैन ।’ प्रहरीको पनि मोटरसाइकलमा मिसावट पेट्रोल हालिएको उनले बताए ।