मोहन काजी,
झापा । मेचीनगर–५ नकलबन्दाकी १७ वर्षीया निकिता थापा मगरले ‘मिस टीन भारत’को उपाधि जितेकी छन् । निशा थापा र पदम थापा मगरको दुई छोरीमध्ये जेठी सन्तान निकिताले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी हुन् । यही असार २० गते शुक्रवार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ प्रतियोगितामा भारतका ३० वटा प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर उनी बिजेता बनेकी हुन् ।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै छ ।

दिल्लीमा ‘मिस टीन भारत’ जितेर आइपुगेकी उनका बारेमा समाचार खोज्न लोकतन्त्र पोस्टको टिम स्थानीय सामाजिक कार्यकर्ता विकास थापामगरको सहयोगमा पहिलोपल्ट बुधवार उनको घरमा पुगेको थियो । घरमा निकिता, उनकी बहिनी नेहा र आमा निशा बस्दै आएका छन् । नेहा कक्षा ७ मा पढ्छिन् । निकिताका बुबा पदम थापामगर वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेशियामा रहेका छन् ।

‘मिस टीन भारत’को आयोजना भारतको अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले बर्सेनि गर्दै आएको छ । सो संस्थाले ‘मिस भारत’ र ‘मिसेस भारत’को समेत आयोजना गर्दछ ।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार वटा म्युजिक भिडियो र एउटा सर्ट मुभीमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।

प्रतियोगितामा निर्णायकहरुले सोधेको ‘जीवनको उद्देश्य के छ’ भन्ने निर्णायक प्रश्नको उत्तर दिदै उनले भविष्यमा ‘मिस वल्र्ड’ बन्ने सपना साँचिसकेको बताएकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगितामा टप लेभलमा पुग्ने नेपालकी श्रृङ्खला खतिवडा र भारतकी मानुसी चिल्लरबाट आफु अभिप्रेरित भएको निर्णायकहरुलाई सुनाएकी थिइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तिब्बतका निर्वासित धार्मिक नेता एवम् नोवेल शान्ति पुरस्कार विजेता दलाइ लामाका बारेमा निर्णायकहरुले विभिन्न प्रश्न सोधेको निकिताले बताइन् ।

प्रतियोगितामा उनी पश्चिम बङ्गालको तर्फबाट ‘मिस टीन भारत’मा भाग लिन दिल्ली पुगेकी थिइन् । तर निर्णायक रहेका पाँच जनामध्ये आयोजक संस्थाका प्रमुख अमन गान्धी र मिसेस राइजिङ एसिया २०१८ की विजेता काजोल भारद्वाजले ‘तिमी त नेपाली रहिछौं, नेपालकै प्रतिनिधित्व गर्दै सहभागी बन’ भनेर हौस्याएपछि आफुले त्यसपछि बङ्गालको नभएर नेपालकै प्रतिनिधित्व गरेको निकिता बताउँछिन् ।

प्रतियोगिताको ग्रान्ड फिनाले दिल्लीको मेट्रोभ्यु होटलमा भएको थियो । अरु निर्णायकमा मिस ग्लोरी अफ इन्डियाको उपाधि जितेकी नेहा चौधरी, प्रसिद्ध सङ्गीतकार एआर रहमानको एसिस्टेन्ट आइएन शेखर र मिस भारत २०१८ की विजेता स्वप्निल शुक्ला थिए ।

प्रतियोगितामा भारतको विभिन्न प्रान्तबाट चुनिएका ३० जना सहभागी थिए । निकिताले प्रतियोगितामा नेपाली गीतमा नृत्य गरेकी थिइन् भने मगर भेषभूषामा उनी कार्यक्रम अवधिभर प्रस्तुत भएकी थिइन् ।

भारतको सिलगढीमा रहेका निकिताका आफन्तहरुमध्ये राघव शर्मा स्टार प्लसमा फेसन डिजाइनर छन् । शर्माकै प्रेरणा र हौसलामा उनी मोडलिङमा लागेको र अहिलेको सफलतासम्म पुगेको निकिता बताउँछिन् । ‘मिस टीन भारत’का लागि उनले अनलाइनबाट फर्म भरेर सहभागिताका लागि आवेदन दिएकी थिइन् ।

दुई वर्ष अघि निकिताले सिलगढीमा आयोजना भएको ‘मिस नर्थ बङ्गाल २०१७’ को समेत ताज जितेकी थिइन् । त्यहीबाट उनको मोडलिङ करियर अघि बढेको थियो । मेचीनगर-६ नकलबन्दामा जन्मिएकी निकिताले एसइइसम्मको शिक्षा काँकरभिट्टाको नर्थ पोइन्ट अङ्ग्रेजी विद्यालयबाट पूरा गरेकी थिइन् ।

निकिताको परिवार निम्न बर्गीय आर्थिक अवस्थाको रहेको छ । उनकी आमा निशाले सानो छँदा शिक्षक बन्ने चाहना राखेर निकिताले गाउँभरिका केटाकेटीलाई पढाउन जाने गरेको सुनाइन् । पछि ठुली हुँदै गए पछि एयर होस्टेज बन्ने चाहना राखेको तर अहिले विश्व सुन्दरी बनेर नेपालको नाम राख्ने उनको एकमात्र लक्ष्य भएको आमा निशा बताउँछिन् ।

गाउँमा १२ धुर जग्गामा बनेको सानो एकतले टिनको छानो भएको घरमा निकिताको परिवार बस्छन् । अलिपर २ कठा जग्गा उनीहरुको नाममा छ । निकिताका बुवाले मलेशियामा श्रम गरेर आर्जन गरेको श्रोतबाट परिवारको गुजारा चल्दै आएको छ ।

निकिता सामाजिक सेवा र राजनीतिमा समेत सक्रिय छिन् । काँकरभिट्टा क्याम्पसमा अनेरास्ववियू इकाई कमिटीकी अध्यक्ष रहेकी उनी आउँदो स्ववियू चुनावमा अध्यक्ष पदको सम्भावित उम्मेद्वार रहेको नेकपाका युवा नेता विकास थापामगर बताउँछन् ।

निकिता पढाइमा अब्बल र राजनीतिमा अग्रसर प्रतिभाशाली विद्यार्थी भएको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष समेत रहेका विकास थापामगर बताउँछन् । लोकतन्त्र पोष्टबाट