झापा । सोमबार बजार बन्द हुँदै आएको झापाको बिर्तामोडलाई साउन ४ गतेदेखि शनिबार बन्द गरिने भएको छ । बिर्तामोडका विभिन्न ११ वटा संघसंगठनले बिर्तामोडलाई शनिबार बन्द गरिने भन्दै बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघ, मेची डिस्ट्रीव्युटर्स एसोसिएशन, हार्डवेयर व्यवसायी संघ झापा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा, नेपाल मार्वल व्यापार संघ झापा, मेशिनरी एसोसिएशन बिर्तामोड, नेपाल अटोमेकानिक्स ट्रेड युनियन, कम्प्युटर एसोसिएशन अफ नेपाल झापा, नेपाल व्यापार कर्मचारी संघ (युनिकम), मोवाइल एसोसिएशन झापा र हेभि इक्विपमेन्ट व्यवसायी संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती प्रकाशन गर्दै शनिवार बिर्तामोड बजार बन्द गर्ने भएका हुन् ।

बन्दको औचित्यमाथि प्रकाश पार्दै मेची डिस्ट्रीव्युटर्स एसोसिएशनका अध्यक्ष राजेन्द्र थापाले शनिबार बन्दको पक्षमा ७५ प्रतिशत उद्योगी, व्यवसायी सम्बन्धित सरोकारवाला रहेको दाबी गरे । उनले ४ वर्ष अघिदेखि शनिबार बजार बन्द गर्ने भनिए पनि कार्यान्वयन नभएकाले साउन ४ गतेदेखि बन्द गरिने बताए ।

कलकारखाना, उद्योगधन्दा तथा वित्तीय संस्थाहरु शनिबार राष्ट्रिय विदा हुने भएकाले पनि सोही दिन बन्द गर्न लागिएको बताइएको छ । शनिबारर व्यवसायी संघ÷संस्था खुल्ला रहेका पनि न्यून कारोबार हुने भएकाले बन्द उपयुक्त हुने हार्डवेयर व्यवसायी संघ झापाका अधयक्ष मात्रिका कोइरालाले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभामा समेत शनिबार बन्दको कुरा पुर्याएको उनले बताए । उनले सोमबार हुने बन्दले हप्तामा ४ दिन व्यवसाय प्रभावित हुने बताए ।

ब्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ बिर्तामोडलाई शनिबार बजार बन्दको आग्रह गर्दै पटक–पटक लिखित तथा मौखिक आग्रह गरेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । वाणिज्य संघले शनिबार बन्दको बिषयमा कुनै निर्णय नगरेकाले बस्तुगत संगठन र त्यसमा आवद्ध व्यवसायीहरुले बन्दलाई एकरुपता गर्ने उद्देश्यले साउन ४ गतेदेखि शनिबार बन्दको आव्हान गरेको बताइएको छ ।

कार्यक्रममा नेपाल व्यापार कर्मचारी संघ (युनिकम)का अध्यक्ष गजेन्द्र पौडेल, व्यवसायी डम्वर थापा, सुरेशकुमार अग्रवाललगायतको उपस्थिति थियो ।