झापा । गरिबी निवारण कार्यक्रममार्फत् विपन्न बाख्रापालक कृषकहरुलाई लक्षित गरी अर्जुनधारा नगरपालिकाले नगरका तीन वटा कृषक समूहलाई बोयार बीउ बोका वितरण गरेको छ ।

नगरपालिकाले अर्जुनधारा-१ खैरेनीमा रहेको चन्द्रमुखी महिला समूहलाई तीन लाख रुपैयाँ बराबरको एउटा, अर्जुनधारा-७ मा रहेको हिमचुली कृषक समूहलाई दुई लाख रुपैयाँ बराबरको एउटा र अर्जुनधारा-१० मा रहेको कालिका बाख्रा पालन समूहलाई दुई लाख रुपैयाँ बराबरको एउटा गरी तीन वटा बोका वितरण गरेको नगर पशुपंक्षी शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

नगरपालिका र कृषक समूहबीच एक सम्झौतापत्र तयार गरिएको छ । जसमा प्राप्त भएको बोका बिक्री गर्न वा खाइ मास्न नपाइने, नगर पशुपंक्षी विकास शाखालाई समूहले मासिकरुपमा प्रगति विवरण बुझाउनुपर्ने, व्यवस्थित खोरको व्यवस्थापन गर्नुपर्ने, प्राप्त भएको बोका सामूहिकरुपमा सञ्चालन गर्नुपर्ने, बोकाको वीमा अनिवार्य गर्नुपर्ने र अव्यवस्थित तरिका र लापरवाही भएको खण्डमा शाखाले बोका फिर्ता गरी अन्य समूहलाई दिनसक्ने उल्लेख गरिएको छ ।

वितरण गरिएको बोकाको विषयमा नगरपालिका र समूहबीच भएको सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट शाखा प्रमुख राई र समूहका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख कमला खतिवडा आचार्यले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।