झापा । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि चौथो नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति झापाको सभाकक्षमा आयोजित एक समारोहका बीच नगरपालिकाले नीति तथा कार्यक्रमसहित ७१ करोड ४१ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

झापा क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्की, प्रदेशसभा सदस्यहरु गोपाल बुढाथोकी, बसन्त बानियाँ र ओमप्रकाश सरावगीले संयुक्त रुपमा नीति कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गरे ।

समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कार्कीले भद्रपुर नगरपालिका ऐतिहासिक नगरपालिका भएकोले यसको ऐतिहासिकताकै आधारमा विकासका योजनाहरुलाई अघि बढाउन सुझाव दिए । नगरपालिकाले बजेट सार्वजनिकीकरणको अवसर पारेर भद्रपुरमा बसेर पाँच दशकदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी पाण्डेलाई पत्रकारिता दीर्घसेवा सम्मानद्वारा सम्मानित गरेको छ ।

सार्वजनिक गरिएको बजेटअनुसार ११ करोड ९७ लाख २२ हजार रुपैयाँ चालु तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ । नगरपालिकाले आन्तरिक आय, वित्तीय समानीकरण तथा राजश्व बाँडफाँडबाट ४७ करोड १५ लाख ३७ हजार आय हुने र संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान २४ करोड २६ लाख ५८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।