झापा । साहित्य चौतारी झापाले आफ्नो २०औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार बिर्तामोडमा एक कार्यक्रम गरी झापाका रंगकर्मी लवकुश गौतमलाई सम्मान गरेको छ ।

अर्जुनधारा-११ स्थित सालबारी निवासी रंगकर्मी गौतमलाई यस वर्षको स्व. डिकमान विरही स्मृति साहित्य चौतारी कला सम्मान तथा पुरस्कार प्रदान गरेको हो । कलामध्येकै ज्येष्ठ कला अभिनय क्षेत्रको नाटक विधामा २०५५ सालदेखि नै नाटक लेखन, निर्देन र अभिनय क्षेत्रमा प्रवेश गरी पुर्याएको योगदानको मूल्यांकन गर्दै रंगकर्मी गौतमलाई सम्मान प्रदान गरिएको साहित्य चौतारीले उल्लेख गरेको छ ।

दर्जनौँ रंगमञ्चीय र सडक नाटक, सयौँ रेडियो नाटक तथा साना ठुला चलचित्रमा अभिनय गरी आफूलाई कुशल नाट्यकर्मी तथा कला जगतमा स्थापित गरेकाले सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवनाथ पोखरेल, चौतारीका अध्यक्ष टंक विकल्प, संस्थापक देवीभक्त श्रेष्ठ, गीतकार तथा संगीतकार शिवशंकर थापामगरलगायतले सम्मान गरे ।