झापा । झापाको बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् । उनले आइतबारदेखि नै प्रिन्सिपलको जिम्मेवारी पनि सम्हाले । यसै शैक्षिक सत्रबाट पहिलो पटक बिएण्डसी मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डाक्टर उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको नियक्तिपत्र हस्तान्तरण गरेका थिए । काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लामो समयसम्म काम गरेका प्राध्यापक डा. उप्रेतीले बी एण्ड सीको जिम्मेवारीले आफूलाई थप हौसला प्रदान गरेको बताए । अस्पताल परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाक्टर उप्रेतीले आफू पनि झापाबासी भएकाले झापामा नै आएर सेवा गर्न पाउनु गर्वको कुरा भएको बताए ।

उनले बिएण्डसी मेडिकल कलेजबाट दक्ष चिकित्सक उत्पादन गर्ने अठोटसमेत गरेका छन् । आफ्नो शैक्षिक अवस्था, बाल्यकाल र शिक्षण अस्पतालमा भोगेको विगतबारे चर्चा गरेका डाक्टर उप्रेतीले सबैसँग मिलेर नयाँ जोश र जाँगर लिएर काम गर्न आफू झापा आएको बताए ।
शिक्षण अस्पतालमा ४४ वर्ष प्रमुख भएर काम गरेको अनुभव संगालेका प्राडा उप्रेतीले आफ्नो ४ वर्षको बहिनी १५ रुपैयाँको औषधिको अभावमा ज्यान गुमाउनु परेको दुःखद् क्षणले चिकित्सा पेसामा आउनुपरेको सुनाए ।

उनले बिएण्डसीमा जागिर खान नआएको भन्दै आफूले झापामै पढेकाले यहाँको सेवा गर्नु आफ्नो दायित्वभित्र पर्ने उल्लेख गरे । उनले बिएण्डसीलाई नम्बर १ हस्पिटल बनाएर छाड्ने बाचा गर्दै विदेशका स्तरीय हस्पिटलसँग सहकार्य गर्ने दाबी पनि गरे ।

मेडिकल कलेजमा अनुसन्धान गर्दै सेवा दिने प्रतिवद्धता जनाएका उनले बिरामीको सेवा नै पहिलो प्राथमिकता भएको बताए । उनले प्रभावकारी सेवा दिएर इतिहास रच्ने काम गर्ने दाबी पनि गरे । उनले आफ्ना स्टाफहरुलाई लक्षित गर्दै यहाँ शासन गर्न नआएको स्पष्ट पारे । उनले भने, ‘मिलेर काम गरौँ, खुसी रहौँ र खुुसीले सेवा गरौँ ।’ उनले टिम मिलेर काम गरेर देखाउन पनि आग्रह गरे ।

पत्रकार सम्मेलनमा मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले सम्पूर्ण डाक्टरहरुको तर्फबाट खादा लगाएर प्रिन्सिपल प्राडा उप्रेतीको स्वागत गरेका थिए । सोही कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले अबको एक दशकभित्र दुई लाख नागरिकलाई रोजगारी दिने हिसाबले आफू अघि बढिरहेको बताए ।

यसै शैक्षिक सत्रबाट अध्यापान सुरु गर्ने तयारीका साथ अस्पतालले प्रोफेसर ल्याउने क्रमलाई तिब्रता दिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । यस अघि नै प्रोफेसरद्वय डाक्टर गेहनाथ बराल र ऋतु बराललाई अस्पालले नियुक्त गरिसकेको छ ।