इलाम । खेतबारीमा रासायनिक मल जथाभावी प्रयोग गर्दा माटोको अवस्था बिग्रँदै गएको छ। ४६ प्रतिशत नाइट्रोजन भएको युरिया मलको बालीमा एकोहोरो प्रयोगले माटोको उत्पादकत्वसमेत घटेको कृषि प्राविधिकले बताएका छन्।

इलामका कृषकले यस वर्ष मात्रै सात सय ९८ टन युरिया मल खरिद गरेको कृषि सामग्री कम्पनी लिमिटेड इलामले जानकारी दिएको छ। कार्यालयबाट डीएपी एक सय ४८ टन र पोटास २० टन बिक्री भएको कम्पनीका सूचना अधिकारी नरोज दहालले बताए। डीएपीमा फस्फोरस ३२ प्रतिशत र म्युरेट अफ पोटासमा ६० प्रतिशत पोटास तत्व पाइन्छ।

कुल २७ हजार हेक्टर खेतीयोग्य जमिन रहेको ताप्लेजुङमा वार्षिक तीन सय मेट्रिक टनभन्दा बढी युरिया प्रयोग हुने गरेको छ। त्यसमा पनि सडकको पहुँच पुगेका सदरमुकाम आसपासका कृषकले रासायनिक मल धरै प्रयोग गर्ने गरेको तत्कालीन कृषि विकास कार्यालयको तथ्यांक छ। मकै, धानलगायत अन्य केही तरकारीमा समेत युरिया लगाउने प्रचालन छ। युरियाको तुलनामा डीएपी, पोटास जस्ता रासायनिक मलको प्रयोग भने अत्यन्तै न्यून छ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र तेह्रथुममा कृषि सामग्री कम्पनी झापा र साल्ट ट्रेडिङ विराटनगरबाट रासायनिक मल आउने गरेको छ। झापास्थित कृषि सामग्री कम्पनीबाट मात्रै आर्थिक वर्ष २०७४÷७५ मा दुई सय ६३ मेट्रिक टन युरिया ताप्लेजुङ भित्रिएकोमा डीएपी ९ मेट्रिक टन प्रयोग भएको छ। कम्पनीका कार्यालय प्रमुख कमल पोख्रेलले युरियाकै माग धेरै रहेको बताए। सोही आवमा तेह्रथुमको आठराई भेगमा ५३ मेट्रिक टन युरिया र दुई मेट्रिक टन मात्रै डीएपी खपत भएको पोख्रेलले बताए। पाँचथरमा ९० मेट्रिकटन युरिया र ८ मेट्रिकटन प्रयोग भएको छ।

कृषि ज्ञान केन्द्र इलामका वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ साह रासायनिक मलको प्रयोग खतरनाक भएको बताउँछन्। उनले भने, ‘माटोमा अम्लीयपना बढाउने कारण पनि रासायनिक मल प्रयोग नै हो।’ माटोमा अम्लीयपना बढेसगै माटोको उर्वराशक्ति समेत हराउनुको एक कारण रासायनिक मलको अनियन्त्रित भएको उनले बताए।

बालीअनुसार मलको प्रयोग मात्रा फरक परे पनि औसत बालिका लागि नाइट्रोजन एक सय किलो प्रयोग गर्दा फस्फोरस र पोटास ३० किलोको दरले प्रयोग गर्न सिफारिस गरिन्छ। अहिले बजारमा पाइने मलमा नाइट्रोजन फस्फोरस र पोटासको मात्रा हेर्दा ६ सय टन युरिया प्रयोग गर्दा चार सय टन डीएपी, चार सय टन युरिया र तीन सय टन पोटास प्रयोग गर्नु पर्ने उनको भनाइ छ।

इलामका किसानले भने अघिल्लो आर्थिक वर्षमा पनि पाँच सय ४१ टन युरिया खरिद गर्दा डीएपी एक सय १४ टन र पोटास १८ टन मात्रै प्रयोग गरेको कृषि सामग्री कम्पनीको तथ्यांकले देखाएको छ। अरु जिल्लाको अवस्था पनि उस्तै छ।

इलाम सभित चियाको खेतीगर्ने जिल्लाका किसानले अधिकांश मल चियामा प्रयोग गर्ने गर्दछन्। चिया तथा कफी विकास बोर्डका अनुसार बिरुवा चियामा नाइट्रोजन दुई भाग, फस्फोरस एक भाग र पोटास दुई भाग प्रयोग गर्नु पर्छ। वयस्क चियामा ३ भाग नाइट्रोजन, फस्फोरस १ भाग र पोटास ३ भाग प्रयोग गर्नुपर्छ। किसाले नाइट्रोजनको एकोहोरो प्रयोग गर्ने गरेको इलामको सूर्योदय नगरपालिका ११ का कृषक रविन आचार्य बताउँछन्।

युरिया नलगाउँदा बाली नसप्रने तथा फल नलाग्ने ताप्लेजुको फुङलिङ नगरपालिका-४ का कृषक देउकुमार लिम्बू बताउँछन्। बोर्डका अनुसार पाँच वर्षभन्दा बढी उमेरका बिरुवालाई चियाका परिपक्व बिरुवा भनिन्छ। नाइट्रोजन तत्वको प्रयोगले मात्र बिरुवालाई आवश्यक खाद्यतत्व पूरा हुँदैन। चियाबालीको उत्पादकत्वमा वृद्धि गर्न फस्फोरस र पोटास पनि उत्तिकै आवश्यक छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।