काँकरभिट्टा । मेचीनगर नगरपालिका क्षेत्रभित्र चल्ने ठुला-साना अब कुनै पनि सवारी साधनले पटके करका नाममा सास्ती व्यहोर्नु नपर्ने भएको छ । नगरका हरेक नाकामा ढाट तेस्र्याएर पटके कर उठाउने कार्यको नगरपालिकाले यसै आर्थिक वर्ष २०७६/०७७ देखि अन्त्य गरेसँगै करका नाममा सवारी चालकले भोग्दैं आएको पीडाको पनि अन्त्य भएको छ ।

मेचीनगरले मुलुकको प्रवेश नाकासमेत भएको कारण नगर क्षेत्रमा पर्यटकहरुलाई यातायातमा सुविधा होस् भनेर यो वर्षदेखि पटके सवारी कर खारेज गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेका कारण सार्थक पार्न सडकमा राखिएका ढाट हटाउन यो व्यवस्था गरिएको प्रमुख आचार्यले बताए ।

उनका अनुसार पटके सवारी करको साटो वार्षिक कर लिइने र सडककै पिच्छे ढाट तेस्र्याएर जथाभावी कर असुल्ने कार्य रोकिएको हो । नगरका उद्योगी व्यवसायीहरुलाई समेत समयमै आफ्ना सवारी साधनको दर्ता गरी वार्षिक कर बुझाउन उनले आग्रह पनि गरेका छन् ।

उनले नगरपालिकाले बजेटबाट ‘असारे खेती’ रोक्न कडा आर्थिक अनुशासन पालना गर्ने जानकारी दिए । नगरप्रमुख आचार्यले जेठ मसान्तभन्दा उता कुनै पनि परियोजनाको विल भर्पाइ स्वीकार नगरिने र रकम निकासाका लागि चेक नकाटिने घोषणा पनि गरेका छन् ।

बजेटमा हुने गरेको ‘असार खेती’को बेथिति रोक्न नगरपालिकाले गतवर्षमा पनि यस्तै निर्णय गरेको भए पनि प्रभावकारीरुपमा सफल नभएको उनको भनाइ छ । आचार्यले चालु आर्थिक वर्षदेखि यो वर्ष विगतको गल्ती नदोहोरिने प्रतिवद्घता व्यक्त गरेका छन् ।