झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाभित्र प्रधान कार्यालय र नगरलाई मात्र कार्यक्षेत्र बनाएर वित्तीय कारोबार गरिरहेका सहकारी संस्थाहरुको व्यवस्थापकहरुको एक भेलाले म्यानेजर्स क्लब गठन गरेको छ ।

बिहीबार नगरको दूधेस्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थामा भएको व्यवस्थापकहरुको भेलाले धरमपुर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विनोद ढकाल क्लबको अध्यक्षतामा निर्विरोध चयन भए । नगरका बिभिन्न प्रकृतिका ३६ वटा सहकारी संस्थाका कर्मचारीको हक, हित र अधिकारका बारेमा वकालत गर्ने नवगठित क्लबले जनाएको छ ।

शिवसताक्षी नगरमा सबैभन्दा धेरै १६ वटा बचत तथा ऋण सहकारी संस्था छन् । २० वटा सहकारी अन्य प्रकृतिका छन् । नगर बाहिर प्रधान कार्यालय र अन्य क्षेत्रलाई पनि कार्यक्षेत्र बनाएर शिवसताक्षी नगरमा आर्थीक कारोबार गर्ने सहकारी संस्था १६ वटा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बजगाईले जानकारी दिए ।
सहकारीका व्यवस्थापक संगठित भएको जिल्लाका १५ वटै स्थानीय तहमा शिवसताक्षी नगरपालिका पहिलो हो । गठित क्लबले सरकारीका कर्मचारीको हितमा नीति, नियम र कार्यविधि बनाएर वैधानिक ढंगले दर्ता गरी काम गर्ने मेनेजर्स क्लबका अध्यक्ष ढकालले जानकारी दिए ।

क्लबको सचिवमा आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेल चयन भएका छन् । यस्तै, सदस्यहरुमा लोकेन्द्रराज लुइँटेल, यामकुमार गौतम, भिमबहादुर लक्सम (लिम्बू, रविचन्द्र राई र सुजन राई चयन भएका छन् ।