बिर्तामोड । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले नेकपा पार्टीभित्र कुनै पनि विवाद नरहेको बताएका छन् । मिडियाले भनेजस्तो पार्टीको स्कुल विभागमा विवाद नरहेको खनालको भनाई छ । अनावश्यक रुपमा पार्टीको स्कुल विभागको विषयमा मिडियाले प्रचार गरेको दाबी गरे ।

मंगलबार झापाको बिर्तामोडमा प्रेस संगठन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले पार्टीभित्र उक्त विभागको नेतृत्व लिने विषयमा कहीँ कतै विवाद नभएको बताए ।

पार्टीले जिम्मेवारी दिए आफू स्कुल विभागको जिम्मेवारी लिन तयार रहेको खनालले बताए । नेता खनालले पार्टीले जिम्मेवारी दिएको खण्डमा स्कुल विभागको जिम्मा लिन तयार भएको बताए । ‘तर, मलाई नै चाहिन्छ भनेर मरीहत्ते गर्दिन’, उनले भने, ‘पाटीले दियो भने जिम्मेवारी लिन तयार छु ।’

नेकपाका बरिष्ठ नेता खनालले स्कुल विभागका लागि नेकपाका ईश्वर पोखरेल, नारायण काजी र झलनाथ खनाल लगायत धेरै नेता योग्य रहेको बताए । उनले स्कुल विभागका बारेमा भ्रममा नपर्न आग्रह समेत गरे ।

नेता खनालले अब चाडै पाटी एकता टुङ्ग्याएर मन्त्री मण्डल हेरफेरबारे निर्णय गरिने जानकारी दिए । सरकारको कामलाई गति दिन मन्त्री मण्डल हेरफेर अनिवार्य रहेको बताउँदै खनालले भने, को को मन्त्री परिवर्तन हुन्छन् भन्ने चै पार्टीको छलफलले टुङ्ग्याउने छ ।