दिपक बोहोरा,
फिदिम । पाँचथरको थापाटारमा रहेको थापाटार सवस्टेसनमा पुगेका कावेली करिडोरका आयोजना प्रमुख दिपेन्द्र द्विवेदी निकै खुसी देखिन्थे । युद्ध जितेर आएको सिपाहीको भन्दा बढी खुसीको मुद्रामा उनी थिए । त्यसको एउटै कारण हो, एक दशकदेखि निर्माण सुरु भएको कावेली करिडोर विद्युत् प्रसारणलाइनको निर्माण कार्य सम्पन्न हुनु ।

‘निर्माण कार्य सुरु भएको एक दशकमा विभिन्न आरोह-अवरोह पार गर्दै निर्माण कार्य सकिएकोमा खुसी छु’, द्विवेदीले भने । सन् २०११ मा ठेक्का लागेको आयोजना सन् २०१३ मा डिजाइन प्रमाणित भएपछि मात्र निर्माण कार्य सुरु भएको हो । निर्माण कार्य सुरु भएको केही समयपछि मुख्य लगानीकर्ता विश्व बैंकले निर्माणकार्यबाट हात झिकेपछि आयोजना संकटमा परेको थियो ।

तर, नेपाल सरकारको विशेष लगानीमा सो आयोजनाले पुर्णता पाएको हो । पटक–पटक गरी चार पटक समय थप्दा मात्र ठेकेदार कम्पनीले निर्माण कार्य सम्पन्न गरेको हो । आयोजनाको सुरुवाती चरणमा पाँचथरको जोरसाल, इलामको मंगलबारे, चमैता, श्रीथुम्कीलगायतका स्थानमा आयोजनाको निर्माण कार्यमा स्थानीयबाट अवरोध हुँदा केही ढिला हुन गएको हो ।

कावेली करिडोर आयोजनाबाट पाँचथरदेखि झापासम्म पुग्दा धेरै रुख कटान भएका छन् । पाँचथरदेखि झापासम्म पुग्दा करिब ८ हजार सरकारी र करिब २५ हजार निजी रुख कटान भएको द्विवेदीले बताए । प्रसारणलाइन निर्माण सम्पन्न भएसँगै पाँचथरले देशलाई धेरै ठूलो मात्रामा विद्युत् सहयोग गरेको उनी बताउँछन् । जिल्लामा हाल करिब १ मेगावाटमात्र विद्युत् खपत हुने गरेको छ । थापाटार सवस्टेसनबाट शनिबारमात्र ४३ मेगावाट विद्युत् बिभिन्न ठाउँमा प्रवाह भएको छ ।

पाँचथरको अमरपुरबाट १३ दशमलव ३३ किमीमा थापाटार सवस्टेशन रहेको छ । यहाँ ४० वटा टावर छन् । थापाटार इलामको सोयाक ४२.६६ किमी दुरीमा १२६ टावर छन् । झापाको दमकदेखि इलामको गोदक ३४.५५ दुरीमा ९५ वटा टावर रहेका छन् । जम्मा पाँचथरदेखि झापाको दमकसम्म ९०.४९ किमी दुरी रहेको र पाँचथरदेखि दमकसम्म २६१ वटा टावर रहेको आयोजना प्रमुख द्विवेदीले जानकारी दिए ।

आयोजनामा हालसम्म २ अर्ब ७४ करोड खर्च भइसकेको छ । यो खर्च प्रसारणलाइन निर्माणदेखि सवस्टेसन निर्माण सबैको खर्च हो । प्रसारणलाइन निर्माणमा मात्र १ अर्ब ३५ करोड खर्च भएको द्विवेदीले जानकारी दिए ।

साउन १७ गतेदेखि आयोजनाको अन्तिम खण्डको परीक्षण थालिएको छ । परीक्षण सुरु भएसँगै काबेली करिडोरको निर्माण कार्य पुरा भएको हो । करिडोरको अन्तिम खण्ड मध्ये पाँचथरको फिदिम थापाटार सवस्टेसनदेखि हिलिहाङको अमरपुर सव-स्टेसनसम्मको चार्ज गर्ने कार्य सुरु भएसँगै करिडोरको निर्माण कार्य पुरा भएको हो ।

शुक्रबारबाट सुरु भएको परीक्षण पाँचथरको साबिक भारपा, सुभाङ, अमरपुर तथा तेह्रथुमको साविक छातेढुँगा गाविसहुँदै पाँचथरको अमरपुर दुवीचौरस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेसनसम्म टावर नम्बर १ देखि ४० सम्मको परीक्षण गरिएको हो ।

यो खण्डमा रहेका करिव ४० वटा टारवमा विद्युत् प्रवाह गर्ने तयारी गरिएको करिडोर आयोजनाले जनाएको छ । करिडोरको झापाको लखनपुरदेखि पाँचथर काबेलीसम्मको खण्डमा कुल २ सय ६१ वटा टावर निर्माण भएको काबेली करिडोर १३२ केभी प्रसारणलाइन आयोनाका प्रमुख दिपेन्द्र द्विवेदीले जानकारी दिए ।

कावेली करिडोर ३२ केभीए प्रसारणलाइन निर्माण पुरा भएपछि पाँचथरबाट हाललाई हेवाँ ए जलविद्युत् आयोजनाको १४ मेघावाट र तल्लो हेवाँ जलविद्युत् आयोजना २१ दशमलव २ मेघावाट केन्द्रीय प्रसारणमा जोडिने भएका छन् । त्यसवाहेक फेमे खोला जलविद्युत् आयोजनासहितका साना आयोजनाको विद्युत् पनि केन्द्रीय प्रसारणमा जाने छन् ।