झापा । राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दको प्रभाव आज बिहानैबाट परेको छ ।

परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल प्रभाब परेको छ । प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक अन्य पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, कलकारखाना पनि बन्द छन् । बन्दका कारण शैक्षिक संस्थाहरुले निर्णय गरेरै आज सञ्चालनमा नल्याएको जनाएका छन् ।

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो । १८३१ साल साउन २२ गतेकै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।