मनोज दाहाल,
हरितालिका तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो पर्वलाई श्रीमान श्रीमतीको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रुपमा पनि लिइन्छ । श्रीमतीले श्रीमानको दिर्घायुको लागि व्रत बस्ने र पूजाआजा गर्ने यो पर्वको विशेषता हो । यो पर्वमा विवाह नभएकाले राम्रो श्रीमान पाउँ भनेर माग्दा त्यो माग भगवान शिवजीले पूरा गरिदिने विश्वास छ ।

यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भएर चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । यही कारण तिज पर्व मनाउने गरिन्छ । आज हामीले तिजको छेको पारेर उमेरले नेटो काटिसक्दा पनि विवाह नगरेका केही महिला सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दैछौँ जसको यस पालीको तिज पनि श्रीमानबिना नै बित्नेछ ।

दीपाश्री निरौला

विगत २७ वर्षदेखि कलाकारितामा सक्रिय दीपाश्री अभिनयमा सफल भएपछि निर्देशनमा हात हालिन् र सफलता पनि पाइन् । छक्का पञ्जाबाट निर्देशनमा डेब्यु गरेकी दीपाश्रीले डेब्यु निर्देशनबाटै कीर्तिमानी निर्देशकको परिचय पाइन् । काममा निकै मेहनत गर्ने दीपा धर्मकर्ममा पनि रुचि राख्छिन् । अझ शिव भगवानसँग उनको निकै नै लगाव छ ।

वर्षौँदेखि शिवको पूजाआजा गर्दै आएकी दीपाले शीवजीसँग आफ्नो लागि वर मागिन् कि मागिनन् त्यो भने उनलाई मात्रै थाहा होला । तर दीपाश्री अहिले पनि अविवाहित नै छन् । जीवनमा ४४ वसन्त पार गरिसक्दा पनि उनले वैवाहिक जीवनको अनुभव गर्न भने पाएकी छैनन् ।

कोमल वली

गायिका, सञ्चारकर्मी तथा सांसद कोमल वलीका लागि तिज विशेष हुन्छ । उनी हरेक वर्ष तिजमा तिज गीत सार्वजनिक गर्ने गर्छिन् । केही वर्ष अघि मात्रै उनले पोइल जान पाम् भन्दै शिवजीलाई पुकारेको गीतले खुबै चर्चा पायो । विवाह नै नगरेकी कोमलले यस्तो गीत गाउँदा उनको जीवनमै मेल खाएको बुझ्न सकिन्थ्यो ।

उमेरका हिसाबले कोमल अहिले ५० कटिसकेकी छिन् । जीवनका पाँच दशक पार गर्दासमेत उनले विवाह गरेकी छैनन् । कोमलले कहिले पोइल जान पाम्, कहिले भेटिएन कोही जस्ता गीत गाएरै भएपनि चित्त बुझाइरहेकी छिन् ।

निरुता सिंह

अभिनेत्री निरुता सिंंह चार दशक पार गर्दा पनि अविवाहित नै छिन् । गुगलका अनुसार निरुताको उमेर ४७ वर्ष छ । तर हालसम्म पनि उनले विवाहका विषयमा भने सोचिसकेकी छैनन् । उनी भन्छिन्, ‘भोलिको दिन कसैले देखेको छैन, तर आजलाई भने म यतिकै ठिक छु ।’

दार्जिलिङमा जन्मेर नेपाली सिनेमामा सफलता पाएकी निरुता अहिले भने मुम्बइमा बसोबास गर्दै आएकी छिन् । केही भारतीय विज्ञापन र सिरियलहरुमा समेत काम गरेकी निरुताले केही वर्षको अन्तरपछि नेपाली सिनेमामा पनि काम गरिन् । नाईँ नभन्नु ल ५ बाट कमब्याक गरेकी निरुताले त्यसपछि सिनेमा दाल भात तरकारीमा काम गरिन् । निरुताले पनि अझै केही वर्ष विवाह गर्ने छाँटकाट देखाएकी छैनन् ।

ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले पनि जीवनका तीन दशक काटिसकेकी छिन् । ‘फस्ट लभ’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी ऋचा एकताका अभिनेता विनय श्रेष्ठसँगको प्रेमका कारण चर्चामा थिइन् । ऋचा विनयसँग विवाह नगरी सँगै बस्दै आएको समेत खबर बाहिरिएको थियो । एकअर्काको गहिरो प्रेममा रहेको यो जोडीले विवाह भने गरेन ।

ऋचासँग अलग भएर विनयले ब्युटि थेरापिस्ट एनी थापासँग विवाह गरेर एक सन्तानका पिता बनिसकेका छन् । ऋचा भने यही वर्ष विवाह गर्ने तयारीमा छिन् । उनले आफ्नो विवाह यही वर्ष हुने तर कहिले भनेर पक्का नभएको बताउँदै आएकी छिन् । अर्को वर्षको तिजमा भने ऋचा पक्कै पनि श्रीमानको लागि व्रत बस्लिन् ।

नम्रता श्रेष्ठ

३४ वर्षीया नम्रता श्रेष्ठ प्राय प्रेमी बदलेका कारण चर्चामा आउँछिन् । उनले प्रेमी फेरेका खरबहरु प्राय बजारमा आइरहन्छन् तर उनी यसबारेमा भने खासै कुरा गर्न रुचाउँदिनन् । तीन दशक काटिसकेकी नम्रताले केही समय अघि मात्रै अहिले नै विवाहबारे नसोचेको बताएकी थिइन् ।

उनी अझै केही वर्ष सिनेमाकै लागि दिने भन्दै विवाहको लफडामा नलाग्ने बताउँछिन् । केही समय अघिमात्रै नम्रताले अभिनय तथा निर्माण गरेको सिनेमा जाइराले सामान्य व्यापार गरेको थियो ।

पूजना स्त्री

अभिनेत्री पूजना स्त्री पनि अविवाहित नै छिन् । तीन दशक पार गरेकी पूजनाले सिनेमा ‘चक्लेट’ निर्माण गरिन् र आफैँ खेलिन् पनि । तर सिनेमाले सफलता भने पाएन । सडक बालबालिकाको कथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो सिनेमाको असफलतापछि उनले सामाजिक सञ्जालमा नआउने निर्णय लिएर चर्चा पाएकी थिइन् । पूजना पुष्पराज पुरुषसँग प्रेममा रहेको चर्चा छ । तर उनीहरुले विवाह भने गरेका छैनन् । पूजना हाल सिनेमा क्षेत्रबाट पनि टाढा भएकी छन् ।

सम्झना बुढाथोकी

चर्चित मोडल सम्झना बुढाथोकी पनि अहिलेसम्म विवाह नगरी बसेकी छिन् । चार दशक टेक्न आँटेकी सम्झनाले मोडलिङमा सफलता पाइन् तर वैवाहिक जीवनको सुख भने अहिलेसम्म पनि पाएकी छैनन् ।

एकताका निर्देशक तथा मोडल शंकर बिसीसँग सहकार्य गर्ने क्रममा उनको नाम शंकरसँगै जोडिएको थियो । तर उनीहरुको सम्बन्ध साथीको मात्रै रहेको खुलासा भयो । शंकरले गायिका निशा सुनारसँग विवाह गरे तर सम्झना भने अविवाहित नै रहिन् । मोडलिङमा पाएको सफलता र विवाहसँगै सम्झना मोटोपनका कारण पनि खुबै चर्चामा आइन् । केही वर्ष अघि देखि बढेको उनको मोटोपनि अहिले पनि कायमै छ ।

शोभा त्रिपाठी

लोक गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठी तीन दशक काटिसक्दा समेत विवाह नगरी बसेकी छिन् । विगत १५ वर्ष देखि सञ्चारक्षेत्रमा सक्रिय शोभा पनि तीस काटिसकेकी छिन् । तर उनी आफ्नो उमेर सार्वजनिक गर्न चाहन्नन् । मिडियामा सञ्चारकर्मी र गायिकाको रुपमा चर्चा पाएकी शोभा विवाह नगरेका कारण बेलाबखतमा चर्चामा आउँछिन् ।

केहीले उनी गोप्य रुपमै सम्बन्धमा रहेको पनि बताउँदै आएका छन् । तर उनले विवाह गरिहाल्ने छाँट भने अहिलेसम्म निकालेकी छैनन् । हरेक सालको तिजमा उनले विभिन्न तिज विशेष गीतहरु बजारमा लिएर आउने गरेकी छन् ।

सुनिता दुलाल

अर्की गायिका सुनिता दुलाल पनि तीस पार गरिसकेकी छिन्त र विवाह भने गरेकी छैनन् । केही वर्ष अघि उनले आफैँले आफू विवाह गर्ने तयारीमा रहेको हल्ला चलाएकी थिइन् । जानकारी अनुसार सुनिता प्रेममा छिन् तर विवाह कहिले गर्छिन् त्यसको आधिकारिक जानकारी भने छैन । तर उनले हरेक वर्षको तिजलाई गीतमार्फत विशेष बनाउने गरेकी हुन्छिन् ।

उनी हरेक वर्ष तिज विशेष गीतहरु निकाल्ने गर्छिन् । यो वर्ष भने उनी नेपाली रियालिटी शो लोकस्टारमा जजको भूमिकामा छिन् । उनका ‘दर खाने दिन’ अब त मैलै नी झुम्का लगाउँछु, यस पाली नी खाने हो दर, नाचौँ सरर लगायतका तिज गीतहरु चर्चामा छन् । उज्याले अनलाइनबाट