पार्थ मण्डल,
झापा । चाडपर्व नजिकिएसँगै झापाका खुल्ला सीमा नाकामा तस्करी बढेको छ। विशेषगरी भारतबाट नेपाल भित्राइने लत्ताकपडाका पोकाहरू तस्कर समूह भन्सार छलेर भित्राइरहेका छन् । लत्ताकपडाको भन्सार मुल्याकंन बढी हुँदा तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरी लत्ताकपडा भित्राउन अहिले सीमा नाकामा सलबलाइरहेका छन् ।

दशैलाई मध्यनजर गरी झापा लगायत पूर्वका बजारमा लत्ताकपडाको माग उच्च रहेको छ । झापासहित पूर्वका व्यापारीहरू सीमा क्षेत्रका कारोबारी समातेर लत्ताकपडा भित्राउँछन् । व्यापारीले एक पोका कपडा बराबर १५ देखि २० प्रतिशत क्यारिङ खर्च कारोबारीलाई दिने गरेको व्यापारी स्रोतको दाबी छ । त्यही प्रतिशतमा कारोबारीले व्यापारीको पसल र गोदामसम्म पुर्याउने गर्दै आइरहेको छ । त्यही १५ देखि २० प्रतिशतको लोभमा कारोबारीले भन्सार छाडेर तस्करी बाटो रोज्ने गरेका छन् ।

कारोबारीले तस्करीको माध्यमबाटै लत्ताकपडा भित्राउन खोजिरहेको घटना प्रहरीले सामान समातेपछि मात्र सार्वजनिक हुने गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सेटिङ मिलुन्जेल कारोबारीले भन्सार छलेर धमाधम लत्ताकपडा भित्राइरहेका हुन्छ । त्यो कुरा नाकाका खटिएका प्रहरी र कारोबारी बाहेक कसैलाई थाहा हुँदैन ।

सेटिङ नमिलेको, जिल्ला वा प्रदेश प्रहरी प्रमुखलाई तस्करीको विषयमा कसैले सूचना दिएपछि मात्र सशस्त्र प्रहरी र नेपाल प्रहरीले कपडा बरामद गर्ने गरेका घटनाहरू बाहिर आउँछ । प्रहरीले सामान बरामद गरे लगतै केहिदिन त्यो नाकामा तस्करी गतिविधि रोकिन्छ, अनि फेरि सात दिन पछि तस्कर समूहको चलखेल सुरु भइहाल्छ ।

चाड पर्व आउन लागेपछि तस्कर समूहले विशेषगरी अन्य सामान छाडेर लत्ताकपडा भित्राउने योजना बनाएर लागि पर्छन् । विशेषगरी जिल्ला बाहुण्डाँगी, तिरीङ, सत्तिघट्टा, काँकडभिट्टा, ज्यामिरगढी, भद्रपुरको घोडामारा, गणेश मन्दिर, देवी बस्ती, डाँगीवारि, किचनकबध, पृथ्वीनगर, पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, कारोबारी, गौरीगञ्ज नाका लत्ताकपडासहित अन्य सामग्री भित्राउने मुख्य नाका हो ।

नाकामा तस्करी बढ्यो
पछिल्लो समयमा भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको लत्ताकपडा वडा प्रहरी कार्यालय भद्रपुरले धमाधम बरामद गर्दै आइरहेको छ । सीमा नाकाकै सुरक्षा खटिएका सशस्त्र प्रहरी यस विषयमा मौनसहित रमिते बनेका छन् ।

वडा प्रहरीले दिनैपिच्छे लत्ताकपडा बरामद गर्दै आए पनि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएका सशस्त्र प्रहरी तस्करी नियन्त्रणमा खासै चासो देखाएको छ ।

सशस्त्र प्रहरी उल्टै तस्कर समूहलाई संरक्षण गर्दै आइरहेकोले नाकामा लत्ताकपडाको तस्करी बढेको हो । सशस्त्र प्रहरीले गर्नु पर्ने काम नेपाल प्रहरीले गर्न थालेपछि भद्रपुर सीमामा सशस्त्र प्रहरीको कामै देखिएन । अहिले भद्रपुरको घोडामारा, गणेश मन्दिर र डाँगीवारि नाकाबाट लत्ताकपडा धमाधम भित्रिरहेको स्रोतको दाबी छ । घोडामारा र गणेश मन्दिर नाका नजिकै सशस्त्र प्रहरी बल २ नम्बर गण झापा रहेको छ । सशस्त्र प्रहरीको गण आसपासका क्षेत्रबाटै दिनहुँ लत्ताकपडा भित्रिँदा समेत सशस्त्र प्रहरी प्रमुख अनविज्ञ भएर बसेका देखिन्छ ।

यता वडा प्रहरी कार्यालयले मङ्गलवार बिहान ४ बजे भद्रपुर ५ स्थित डागीबारी नाकाबाट एक लाख ७५ हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । भारतबाट भन्सार छलेर लत्ताकपडा तस्करी समूहले भित्राइरहेको गोप्य सूचनाको आधारमा वडाबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले डाँगीवारिबाट तीन पोका कपडा बरामद गरेको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । बरामद गरिएको लत्ताकपडा थोरै परिणामको भए पनि महँगो मूल्यको रहेको र मङ्गलवार नै भद्रपुर भन्सार कार्यालय बुझाइसकेको उनले बताए ।

त्यस्तै वडाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार भद्रपुर ६ स्थित कृष्णराज कम्प्लेक्स अगाडिबाट २ लाख ३५ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । गोदाम घरबाट निकालेर बिर्तामोड लैजाने तयारी अवस्थामा रहेको चार पोका कपडा बरामद गरिएको जनाइएको छ ।

बरामद गरिएकोमा २७० मिटर कटन कपडा, ४२० मिटर सट कपडा, ९३ पर्दा सेट र १०५ पिस कुर्ता सुरुवाल रहेको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । त्यसै गरी भदौ ४ गते भद्रपुर ५ स्थित देवीवस्ती नाकाबाट लत्ताकपडा भित्राइरहेको सूचनाको आधारमा वडा प्रहरीले तीन पोका कपडा बरामद गरेको थियो । बरामद गरिएको कपडाको मूल्य ७९ हजारमा भद्रपुर भन्सार बुझाएको वडाका प्रहरी निरीक्षक श्रेष्ठ बताए ।

भन्सारमा कपडाको परिणाम घट्यो
साबिक छोटी भन्सार कार्यालय भद्रपुरको विगतको तथ्याङ्क केल्याउँदा असार, साउन र भदौमा ठुलो परिणाम लत्ताकपडा भित्रिने गरेका थिए । स्तोरन्तती भएका भद्रपुर भन्सार कार्यालयमा त्यति परिणामको लत्ताकपडा नआएको भन्सारका सुब्बा रेवती गिरीले बताए । ‘चाडपर्वलाई मध्यनजर गरी लत्ताकपडा ठुलो परिणाममा भित्रिनु पर्ने हो’, उनले भने, ‘चोरी निकासीको बाटो भएर लत्ताकपडा भित्रिँदा भन्सारको राजश्वमा कमी आएको हो ।’

जिल्ला दुई वटा मूल भन्सारमध्ये भद्रपुर भन्सारमा मात्र लत्ताकपडा भित्रिन्छ । मेची भन्सार काँकडभिट्टामा लत्ताकपडा जानै छोडिसकेको भन्सार कर्मचारी बताउँछन् । ‘बजारमा प्रशस्त मात्रामा लत्ताकपडा गइरहेको छ, कहाँबाट गइरहेको छ, त्यो सबैले अनुमान लगाउन सक्छ’, उनले भने ।

उनका अनुसार भदौमा भन्सारको लक्ष्य २ करोड रहेको छ, अहिलेसम्म एक करोड २० लाख मात्र राजश्व सङ्कलन भएको छ । ‘पछिल्लो समयमा वडा प्रहरीले धेरै परिणाममा लत्ताकपडा बरामद गरी भन्सार बुझाइरहेको छ, सशस्त्र प्रहरीले खासै ल्याएको छैन’, उनले भने । ‘चोरी निकासीको बाटोबाट आउने लत्ताकपडा भन्सार आए लक्ष्य भन्दा बढी राजश्व उठ्छ’, उनले थपे ।

के भन्छन् प्रहरी प्रमुख ?
जिल्लामा चोरी तस्करी रोकथामका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियान नै थालेको छ । प्रहरी उपरीक्षक मैनालीले अभियान थाले पनि सादा पोसाकमा खटिएका प्रहरी र नाका इन्चार्जहरूले तस्करी नियन्त्रणमा खासै चासो नदेखाउँदा अभियान असफल हुन थालेको छ ।

अरू नाका भन्दा अहिले बढी वडा प्रहरी भद्रपुर र काँकडभिट्टा इलाकाले मात्र लत्ताकपडा बरामद गर्दै आइरहेको प्रहरीले पत्रकारलाई पठाउँदै आएकोसामाचार बुलेटिनको तथ्याङ्कमा देख्न पाइन्छ । तस्करी नियन्त्रणका लागि प्रहरीले अभियान नै थालेको प्रहरी उपरीक्षक मैनालीले बताए ।

नेपाल प्रहरीले लत्ताकपडा बरामद गर्दै आइरहेको बताउँदै उनले भने, ‘बजारमा लत्ताकपडा भित्रिरहेको छ, ११८ किलोमिटर खुल्ला नाका छ, तस्कर समूह अहिले लत्ताकपडा मात्रै भित्राउन खोज्दैछ, त्यसलाई नियन्त्रण गर्न मैले अभियान नै थालेको छु, प्रहरीले दिनैपिच्छे ३ देखि लाखको लत्ताकपडा मात्र बरामद गर्दै रहेको छ, उनले भने ‘तस्करसँग साँठगाँठ भएको थाहा पाए प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्छौ ।’

सशस्त्र प्रहरीले सामान बरामद गर्दै आइरहेको दाबी गर्दै सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रेसमकुमार थाक्सुले सञ्चारमाध्यममा समाचार नदिँदा त्यस्तो देखिएको हो । ‘चाडपर्वलाई लक्षित गरी चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन गरेका छौ’, सशस्त्र प्रहरी उपरीक्षक थाक्सुले भने, ‘सामान भित्रिरहेको भन्ने सूचना आउँछ, टोली पठाउँदा सामान भेटिँदैन, यो एउटा समस्या छ ।’

अन्य सामान बढी मात्रा बरामद गरिन्छ रे, लत्ताकपडा चाहिँ त्यति बरामद गरिँदैन भन्ने विषयमा राखिएको जिज्ञासामा उनले भने, ‘त्यस्तो चाहिँ होइन, सशस्त्र प्रहरीले फेला पारेको सामान सबै बरामद गर्छ ।’