बिर्तामोड । विराट-अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोड-४ को १०औँ साधारणसभा विभिन्न विधामा सम्मान गर्दै सम्पन्न गरेको छ । संस्थाले आज आदर्श ब्याक्वेटमा आयोजना गरेको साधरणसभामा बचतकर्ता, उद्यमी र कर्मचारीलाई सम्मान गरिएको हो ।

विराट अर्जुनले आर्थिक बर्ष २०७५/०७६ सम्ममा शेयरपुँजी ९० लाख ६३ हजार तीन सय पुर्याउन सफल भएको कार्यक्रममा जानकारी दिइयो । संस्थाले कुल सम्पत्ती ३ करोड ८ लाख ८५ हजार ७ सय ३९ रुपैयाँ एक पैसा पुर्याएको छ ।

कूल सदस्य संख्या एकहजार ८ सय ६५ जना रहेको संस्थामा ७ जना कर्मचारी रहेका छन् । संस्थाले यस बर्ष २ लाख ८८ हजार २ सय १८ रुपैयाँ ८२ पैसा मुनाफा गरेको छ । संस्थाले यसबर्ष २ करोड ८१ लाख ७४ हजार ९ सय ३९ रुपैयाँ ८२ पैसा लगानी गरेको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।

सोही कार्यक्रमका विच संस्थाका उत्कृष्ट वाल बचतकर्ता दिक्षित पौडेल, उत्कृष्ट बचतकर्ता संजय अग्रवाल र पूजा राजबंशी, उत्कृष्ट उद्यमी देवेन्द्रराज कन्दङ्वा र दुलारी चौधरी र उत्कृष्ट कर्मचारी मुना खड्का र प्रविन मुर्मुलाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सहसचिव भवानीप्रसाद दंगाल रहेका थिए । दंगालले झापाको कुल ग्राहस्थ उत्पादनमा सहकारीले उल्लेख्य योगदान पुराएको चर्चा गरे । रेमिट्यान्सलाई छाडेर सहकारीले वित्तीय क्षेत्रमा ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान दिएको उनको दाबी थियो । झापामा मात्र ९१४ वटा सहकारी सञ्चालनमा रहेको उनले जानकारी दिए ।

आगामी एक वर्षमा पाँच किसिमका सहकारीमात्र सञ्चालन गर्न मिल्नेगरी सरकारले नीति ल्याउन लागेको जानकारी दिँदै उनले आफ्नो लगानी सुरक्षित र सहकारी दीर्घकालसम्म सञ्चालन गर्न सञ्चालक समिति र शेयर सदस्यले लगानी बढाउँदै प्रगति गर्नुपर्नेमा उनको जोड थियो ।

उनका अनुसार २०७७ सालको असोज मसान्तभित्र बचत तथा ऋण, उत्पादक, श्रमिक, बहुउद्देश्यीय र उपभोेक्ता सहकारीमात्र सञ्चालन गर्न पाउने सहकारी नीति सरकारबाट बन्नेछ । सरकारले निर्माण गर्ने मापदण्ड पूरा गरेर आफैँ सहकारी सञ्चालन गर्न, अरुसँग मर्ज नहुनका लागि कडा मिहेनत गर्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, पुर्णिमा सहकारीका अध्यक्ष छविलाल विश्वकर्मा, राष्ट्रिय सहकारी वैक बिर्तामोडका प्रमुख मुना घिमिरेले सहकारीसम्बन्धी आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

संस्थाका ब्यवस्थापक कमला नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।