भद्रपुर । आउँदै गरेको दशैं पर्वलाई लक्षित गर्दै भद्रपुरका मारवाडी महिलाले दशैं मिनी बजार सञ्चालनमा ल्याएका छन् । मारवाडी महिला मञ्च भद्रपुरको आयोजनामा भद्रपुर ६ को सिटी गार्डनमा दशैं मिनी बजार सञ्चालनमा ल्याइएको हो ।

मंगलबारसम्म सञ्चालन हुने मिनी बजारको सोमबार एक समारोहका बीच राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष निर्मला जोशी, प्रदेश नं १ का प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी र भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मिनी बजारमा लताकपडा, खाद्यान्न, ढाकाका घरेलु उत्पादन, कस्मेटिक सामग्री, बालबच्चाका खेलौनाका सामग्रीलगायतका २० वटाभन्दा बढी स्टल राखिएको आयोजक मारवाडी महिला मञ्च भद्रपुरकी अध्यक्ष निकी साहेवालाले जानकारी दिइन् । मञ्चले सोही ठाउँमा गतवर्ष पनि दशैंको अवसरमा मिनी बजार लगाएको थियो ।

यो बजारमा अन्य बजारमा भन्दा उपभोक्ताले केही सस्तोमा सामग्री खरिद गर्न पाउने अध्यक्ष साहेवालाले बताइन् । उद्योग व्यवसायजन्य संघसंगठनले उपभोक्ता लक्षित बजार सञ्चालन गर्न तदारुकता नदेखाइरहेको बेला सामाजिक संस्थामा आबद्ध मारवाडी महिलाले गरेको यो प्रयासको सराहना गरिएको छ ।

मञ्चकी सदस्य निलम गोयलले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि जोशीले भद्रपुरका मारवाडी महिलाले प्रशंसनीय काम गरेको बताइन् । प्रदेशसभा सदस्य सरावगीले सुस्ताउँदै गएको भद्रपुरको बजारलाई उकास्न यस्तोखाले बजारले सहयोग पुर्याउने बताए भने भद्रपुर नगर प्रमुख श्रेष्ठले उद्योगी व्यवसायीका संघसंगठनले पनि पर्व लक्षित बजार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।