काठमाडौं । यस वर्षको एनएसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई ‘सुच्चा’लाई सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मानित गरेको हो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वरिष्ठ पत्रकार सिलवाललाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभयो । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले युवा पत्रकार राईलाई ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघबाट उपलब्ध गराइएको हो ।

नेपाल पत्रकार महासंघको एसोसिएट शाखाको रुपमा रहेको मञ्चले यसअघि एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, पी खरेल, पुष्करलाल श्रेष्ठ, गोपाल बस्नेत, सीताराम अग्रहरिलाई सम्मानित गरिसकेको छ ।

सुमन भोम्जन स्मृति युवा खेलपत्रकारिता पुरस्कार गत वर्षबाट मात्र प्रदान गर्न थालिएको हो । गत वर्ष राजधानी दैनिकका खेल पत्रकार दिल तामाङले सो पुरस्कार प्राप्त गर्नुभएको थियो ।

सम्मानपत्र ग्रहण गर्दै वरिष्ठ खेल पत्रकार सिलवालले खेलकुद पत्रकार मञ्चको गठनसंगै खेल पत्रकारिता संस्थागत ढंगले अघि बढेको बताउँदै आफू खेलकुदमा समाचार संकलनमा क्रममा भोगेका अनुभव सुनाउनुभयो ।

सुमन भोम्जन स्मृति युवा खेल पुरस्कारबाट सम्मानित राईले मञ्चले प्रदान गरेको अवार्डबाट आफुलाई खेलकुद पत्रकारितामा जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।

स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य दिदै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले व्यावसायिक खेलकुद पत्रकारिताका लागि सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले राष्ट्रको प्रतिष्ठा बढाउने काम गर्दै आएका खेल पत्रकारसंग मिलेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठले खेलकुद क्षेत्रको विकास र प्रगतिमा खेलकुद पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले खेलकुदका गतिविधिलाई आम मानिसमा पु¥याउन मात्र नभएर खेलकुदका सरोकार निकायलाई सचेत गराउन समेत खेलकुद पत्रकारिताले उल्लेख्नीय काम गरेको बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल क्षेत्रभित्रका विकृती र विसंङ्गतीलाई उजागर गर्न स्थापना दिवसले अझ बढी प्रेरणा मिलोस भनि शुभकामना दिनुभयो । उहाँले खेलकुद पत्रकारिताको अभिवृद्वि र विकासका लागि मन्त्रालय र सरकार सधै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघअन्तर्गत एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगाना, राष्ट्रिय खेल संघको तर्फबाट नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, भारतीय कुस्ती संघका अध्यक्ष तथा सभासद ब्रिज भूषण शरण सिंहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मञ्चका निवर्तमान अध्यक्ष महेश आचार्यले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभयो । सभापतिको आसनबाट मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले स्थापना दिवसका अवसरमा अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्दै मञ्च अघि बढ्ने विश्वास व्यक्त गर्दै मञ्चको स्थापना रजत वर्षमा टेकेकाले खेल पत्रकारिता वृत्ति विकासको कार्यक्रम गर्ने बताउनुभयो ।