फिदिम । दोस्रो संस्करणको याङनाम गोल्डकप चैत २७ देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ। याङनाममा लाग्दै आएको याङनाम फुङनाम मेलाका अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

 

फिदिम नगरपालिका १० याङनामस्थित इमानसिंह रङ्गशालामा आयोजना हुने गोल्डकपमा जिल्लाका आठ वटा स्थानीय तहका र आयोजकसहित ९ टिमले भाग लिने याङनाम फुटबल क्लबले जनाएको छ।

 

प्रतियोगिताको विजेताले दुई लाख दुई हजार तथा उपविजेताले एक लाख एक हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले फिदिममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

 

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ५५ हजार रुपियाँ लागत अनुमान गरिएको खेल संयोजक दिपेन खजुमले जानकारी दिए। जसमध्ये फिदिम नगरपालिकाले एक लाख र १० नम्बर वडा कार्यालयले दुई लाख गरी तीन लाख रुपियाँ सहयोग गर्ने निश्चित भएको वडाध्यक्ष होमराज थाम्सुहाङले बताए ।

 

उद्घाटन खेलमा आयोजक सेतो र कुम्मायक गाउँपालिका, २८ गते पहिलो चरणमा फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिका, दोस्रो चरणमा हिलिहाङ गाउँपालिका र आयोजक रातो, २९ गते याङवरक गाउँपालिका र तुम्वेवा गाउँपालिले प्रतिस्पर्धा गर्नेछन्।

 

चैत ३० गते सेमिफाइनल चरणका खेल सञ्चालन हुनेछन् भने फाइनल खेल वैशाख २ गते हुनेछ। वैशाख १ गते नयाँ वर्षका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ।