दर्शक, समीक्षकको अपेक्षा थियो– मूलधारको चलचित्रमा दयाहाङ राई ९३९० को सफलताले ‘आम अनुहार’ मात्र होइन ‘आम चरित्र’ पनि पाउनेछ, दयाहाङहरूले नै यसको नेतृत्व गर्नेछन् । तर, आठ वर्षयता झण्डै ४० चलचित्रमा काम गरिसकेका अहिलेका व्यस्त अभिनेतामध्येका एक दयाहाङले इमानदार अभिनेताको छाप कायम राखे पनि आम अपेक्षा भने पूरा गर्न सकेनन् । के परिवर्तनको कुरा गर्ने दयाहाङ आफैं परिवर्तन भए ? उनीसँग नुनुता राईले गरेको वार्ताको सारः

मल्टिप्लेक्समा कबड्डी, कबड्डी कबड्डी, थिएटरमा महाभोजस दुवैमा तपाईं । यो संयोग हो या योजनाबद्ध ?
यसलाई आधाआधा मान्नुपर्ला । अरु बेला म सिनेमा खेल्दै गर्दा मैले नै निर्देशन गरेको नाटक मञ्चन भइरहेको हुन्थ्यो । यसपटक सिनेमा खेल्दाखेल्दै नाटकको रिहर्सल गर्नुपर्‍यो । प्रदर्शन पनि एकसाथ भयो ।

खासमा एक वर्ष अघिदेखि नै यो नाटक बनाउने, खेल्ने योजना थियो । अनुप (बराल) सरको निर्देशन मार्फत पछिल्लो पुस्ताले पनि नाटक निर्माणको ‘प्रोसेस’ बुझ्ने, सिक्ने अवसरका रुपमा हामीले यो नाटकलाई लिएका छौं ।

आठ वर्षअघि लुट को व्यावसायिक सफलतापछि अहिलेसम्म करीब ४० हाराहारीमा फिल्म खेलिसक्नुभयो । मुख्य क्षेत्र रङ्गमञ्चलाई चाहिं उपेक्षा गर्नुभएको हो ?
पहिले मेरो दिमागमा नाटक नै खेल्छु, निर्देशन गर्छु, लेख्छु भन्ने थियो । सिनेमा चाहिं हदै भए निर्देशनसम्म गर्छु कि भन्ने लाग्थ्यो । नाटक गर्दागर्दै सिनेमाका साथीहरूको पनि ‘सर्कल’ बन्यो । कुरा गर्दागर्दै काम पनि शुरु भयो । अहिले त मलाई एउटा दिन र अर्को रात जस्तो लाग्छ ।

दिन रङ्गमञ्च अनि रात चाहिं फिल्म ?
शायद हो कि ! अँध्यारोमा सपना देखिन्छ (लामो हाँसो), उज्यालोमा बाटो ।

तपाईंलाई विश्वास चाहिं फिल्म या नाटक केमा छ ?
जीवनमा दिन र रात दुवै आवश्यक हुन्छ । तर, यसको जवाफ यति मात्र दिएर पुग्छ जस्तो मलाई लाग्दैन ।

फर्केर हेर्दा हामी समवयीहरू जे, जत्रो सोच बोकेर रङ्गमञ्च क्षेत्रमा पसेका थियौं, त्यो प्राप्त गर्‍यौं । शुरुआतमा आफू नाटक खेल्ने, खेलाउनेमै सीमित थियौं । त्यसपछि मञ्चन गर्ने थलो र यसको निरन्तरता, युवा रङ्गकर्मीको उपस्थिति र हदै सोचे दर्शकमा ध्यान दियौं । तर, कस्तो प्रकारको नाटक गर्ने सोचेकै थिएनौं ।

सिनेमा शुरु गर्दा पनि अब म जस्तो मान्छेको कथा पनि आउने भयो भनेर मक्ख परेको थिएँ । तर त्यस्तो हुन सकेन । पाँचरसात वर्षअघि लुट, कबड्डी कै शैलीमा सिनेमाहरू बने । विश्वबजारमा देखाउन लायक हाइवे, सेतो सूर्य, कालो पोथी, तान्द्रो, बुलबुल जस्ता केही सिनेमा मात्रै बने । त्यस्ता सिनेमा कम्तीमा पनि वर्षको दुई वटा आउनुपथ्र्यो कि !

किन त्यसो हुन सकेन त ?
बजारका कारण । अहिले सिनेमा र नाटक दुवै बजारमुखी भएका छन् ।

तर, समयसँगै तपाईं स्वयं परिवर्तन भएर बजारको पछि लाग्नुभयो नि होइन ?
हो, यसलाई म अस्वीकार गर्दिनँ । आफ्नो मनको आवाज सुनेर इच्छाएको काम मात्रै गर्छु भन्ने अवस्था छैन । मैले स्थानीय बजारदेखि विश्वबजारसम्मको फराकिलो क्षेत्रमा काम गरेको छु । आफैंलाई गर्व गर्नलायक केही राम्रा सिनेमामा पनि काम गरेको छु । बजारमै भुलिन्छु कि भन्ने डर चाहिं छ, तर ग्लानि छैन ।

कतिपयले रङ्गमञ्च पृष्ठभूमिका तपाईं, सौगात मल्ल, खगेन्द्र लामिछाने जस्ता अभिनेताबाटै अबको नेपाली फिल्मको सही दिशानिर्देश हुने अपेक्षा गरेका थिए । त्यो गलत थियो ?
खासगरी सिनेमामा हाम्रो उपस्थिति दुई किसिमबाट भयो । पहिलो, दर्शकले हाम्रो अनुहारमा आम अर्थात् आफ्नो अनुहार देखे, कतै कतै चरित्र, कथा पनि आफू नजिकको लाग्यो होला ।

दोस्रो, हामी अभिनय सिकेर आयौं । नाटक पढेर आउनुभएका गुरुहरू सुनिल पोखरेल र अनुप बरालले सिकाउनुभयो । त्यो स्कूलिङले बजारमा एक किसिमको तरङ्ग ल्यायो । तर मार चाहिं हामीमाथि नै पर्‍यो । किनभने, सिनेमाका अधिकांश निर्देशकमा पढ्नुपर्छ, सिक्नुपर्छ भन्ने भावना भएन । अहिले भइरहेको त्यही हो । पहिले जस्तै फेरि निर्देशकहरू ‘कन्टेन्ट’ भन्दा पनि बिकाउ अनुहारमै भर पर्न थाले ।

राम्रो चलचित्र कसरी बन्छ भन्ने समझ भएका तपाईंहरूले पनि त निर्देशक, निर्मातालाई सुझाव दिन सक्नुहुन्थ्यो होला नि रु
फिल्म केही कलाकारले मात्रै धान्न सक्ने क्षेत्र होइन । फिल्म राम्रो हुन कथा राम्रो हुनुपर्छ । पात्रलाई न्याय गर्न राम्रो कलाकार चाहिन्छ । हामीकहाँ यो कलाकारबाट यसरी कथा भन्न लगाउँछु भन्ने निर्देशक एकदम थोरै छन् ।

अर्को समस्या चाहिं हाम्रो हतारोपन हो । रातारात स्टार हुनु छ, धैर्य छैन । कोही निर्देशक राम्रो चिज लिएर आउनुहुन्छ, त्यसबाट अझै राम्रो चिज निकाल्न सकिन्छ भनेर थाहा हुन्छ । तर, त्यसका लागि हामीसँग समय नै हुन्न ।

कतिपय फिल्ममेकर पटकथा लिएर आउनुहुन्छ, दुई महीनापछि सूटिङ छ भन्नुहुन्छ । म यसो गरौं, यसरी तयारी गरौं भन्छु । उहाँ पूरै तयारी सकिए जसरी मलाई विश्वस्त पारेर जानुुहुन्छ । तर, सूटिङ स्थलमा पुगेपछि भने उहाँको कुरा त मलाई मनाउने औजार मात्र रहेछ भन्ने थाहा हुन्छ ।

रङ्गमञ्चका कलाकारहरू चलचित्रमा आउँदा भूमिका छनोटमा कमजोरी देखिन्छ । अधिकांशमा उस्तै चरित्र ९टाइपकास्ट० को समस्या पनि छ । यस्तो किन भइरहेको छ ?
चलचित्र र नाटकको अभिनय फरक–फरक हुन्छ । नाटकमा अभिनय गर्दा मञ्चको एक ठाउँमा बसेर पछाडिसम्मका दर्शकलाई सुनाउनुपर्ने हुँदा हामी ‘लाउड’ हुन्छौं ।

नाटकबाट फिल्ममा आएका हामी कतिपयमा पात्रको विकास आफैं गर्ने, पात्र र निर्देशकको मनोविज्ञान समात्ने शैली छ । यसबाट निर्देशक नै अलमलिने, पटकथाबाट पात्र अन्तै बहकिने र अभिनय भद्दा देखिने डर हुन्छ । म चाहिं कथा वा चरित्रको पृष्ठभूमि समात्छु र निर्देशकले भने अनुसार गर्छु । तर, समस्या निर्देशकमै छ । जोकोही कलाकारलाई आफ्नो उपस्थिति बलियो होस् भन्ने लोभ हुन्छ । नियन्त्रण गर्ने क्षमता राख्नुपर्ने त निर्देशकले नै हो ।

समस्या निर्देशक र कलाकारमै रहेछ । तर वेलावेला निर्देशकहरूले दर्शकको चलचित्र चेतनामा प्रश्न गरेको पाइनु कत्तिको उचित हो रु
सिनेमाको स्वादको हिसाबले हामीभन्दा दर्शक निकै ‘स्मार्ट’ छन् । किनकि, उनीहरू संसारभरका सिनेमा हेर्छन् । दर्शकलाई ‘नेपालको यो फिल्ममेकरले यतिसम्म बनाउन सक्छ’ भनेर राम्रोसँग थाहा छ । त्यसो नहुँदो हो त ‘हामीले हिट सिनेमा बनाएका छौं हेर्न जानुहोस्‘ भन्दैमा दर्शकले किन पत्याउँदैनन् !

अब थोरै अनुहारकै कुरा गरौं । मूलधारको चलचित्रका नायककै रुपमा तपाईंलाई स्वीकार गरिए पनि तपाईं जस्तै समुदाय, जाति, वर्ग र पहिचानका अन्य मुद्दाका कथामा चलचित्र नबन्नुमा समस्या कहाँनेर छ ?
एउटा दयाहाङ राईको अनुहार देखाएर समग्र जनजातिको प्रतिनिधित्व हुँदैन । म अभिनेता हुनु भनेको रामवरण यादव राष्ट्रपति भएर समग्र मधेशी जातिको स्थिति उकासियो वा विद्यादेवी भण्डारी राष्ट्रपति र सुशीला कार्की प्रधानन्यायाधीश भएर महिला वर्ग सम्मानित भए भन्नु जस्तै हो ।

अब रह्यो कथाको कुरा । समस्या नै त्यहीं छ । हामीले कथासम्म पुग्ने आँट नै गर्न सकिरहेका छैनौं । त्यसका लागि पर्याप्त ज्ञान पनि छैन । जस्तो- म राई, मेरो जीवनदर्शन अर्को राईसँग नमिल्न सक्छ । त्यति मात्र होइन, म वान्तवाभाषी, अर्को वान्तवाभाषीसँगै संस्कार बेग्लै हुन सक्छ । यसका लागि त गहिरो अध्ययन गर्नुपर्छ, जसका लागि फिल्मकर्मीमा धैर्य छैन ।

आफ्नो कथा भन्ने दायित्व त तपाईंको पनि होइन र ?
म लगायत हामी केही साथी हाम्रै कथाहरू भन्न रङ्गमञ्च र चलचित्रमा आएका हौं । तर, बाटो बनाउँदै जाँदा लोकप्रिय भइयो, अब यही लोकप्रियतामा भुलिएला कि भन्ने डर छ ।

बजारबाट जोखिमको अनुभूति भएको छ ?
पटक्कै छैन । चुनौती भने शुरु भएको छ । हिजोसम्म हामीले आफ्नो उपस्थिति मात्रै खोज्यौं । आज उपस्थिति स्वीकार भइसकेपछि थप सिर्जनात्मक हुनुपर्ने चुनौती छ । हिजोभन्दा आज स्पष्ट हुँदै गएको छु ।

केही गरी बजारले मलाई फ्याँक्नु भनेको हिजोका मेरो सोच पूरा गर्न समय दिनु हो । भोलि फरक किसिमको बजार निर्माण गर्न पनि सकिएला ।

हिमाल खबरबाट साभार, तस्वीर : मोनिका देउपाला