अर्जुनधारा । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले अर्जुनधारा १ स्थित निर्माणाधीन शहीद टेक–मान रंगशालालाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

शहीद टेक-मान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त आयोजनामा बुधबारदेखि शुरु प्रथम टेक–मान प्रदेशस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन मन्तव्यमा बोल्दै प्रमुख अतिथिसमेत रहेका मन्त्री आङबोले रंगशाला निर्माणका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सरकारले स्थानीय तहलाई उपलब्ध गराउने अनुदानमार्फत् रंगशाला र जनयुद्ध मार्गको स्तरोन्नती गर्न आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री आङबोले बताए ।

सोही कार्यक्रममा टेकमान लिङदमका बुबा धनबहादुर लिङदम र मानबहादुर राईका दाइ आकाश राईलाई मन्त्री आङबोले दोसल्ला ओढाएर सम्मान गरेका थिए । टेकमान लिङदम र मानबहादुर राईले सशस्त्र द्वन्द्वको क्रममा २०५९ असोज १० गते सुरक्षा कार्बाहीमा ज्यान गुमाएका थिए ।

समितिका अध्यक्ष सूर्य लोहारको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा-१ वडा समिति, खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सिंहदेवी माध्यमिक विद्यालयको तर्फबाट मन्त्री आङबोलाई ज्ञापनपत्र बुझाइएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरी, नगर प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

समितिका उपाध्यक्ष उपेन्द्र बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन आर्थिक उपसमितिका संयोजक पवन खनाल र अतिथि सत्कार उपसमितिका संयोजक विष्णुलाल ढकालले गरेका थिए ।