धनकुटा । स्थानिय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य बस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकाहरु माथी कडाइ सुरु गरेको छ । धनकुटाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारहरुमा छड्के अनुगमनलाई तिब्र पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, कर कार्यालय ,घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, उपभोक्ताका प्रतिनिधिहरुको संयूक्त अनुगमन टोलीले चाडवार्डको मौकामा उपभोक्ताहरु ठगिन सक्ने भन्दै दैनिक जसो बजार अनुगमन गरिरहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

टोलीले सागुरीगढी गाउँपालिकाको भेडेटार बजार, धनकुटा नगरपालिकाको हिले बजार र धनकुटा बजारमा खाद्यान्न तथा मदिरा एकै ठाउँमा राखेर बिक्रि गर्दै आएका केही पसल, औषध बिक्रीका लागि अनुमति नपाएका ब्यक्तिद्वारा सञ्चालित मेडिकल फार्मेसी, म्याद सकिएका फेन्सी सामान, सुनचाँदी व्यवसाय, कपडा पसलमा अनुगम गरेको जनाएको छ ।

अनुगमनका क्रममा व्यवसाय संचालनका लागि इजाजत नलिएका तथा करको दायराभन्दा बाहिर रहेका व्यापारीहरुलाई भने प्रशासनले सचेत गराएर छाडिएको प्रशासकिय अधिकृत सुधिर साफिले बताउनुभयो ।

अनुगमनका क्रममा ग्रामिण क्षेत्रका अधिकाशं बजारमा म्याद गुज्रन लागेका खाद्य तथा पेय पदार्थ पठाउने गरिएको पाइएको छ । भेडेटार बजार , हिले बजार र धनकुटा बजारका करिब ७ दर्जन किराना पसल तथा होटलबाट उपभोग अवधी सकिएका बिस्कुट, चाउचाउ, पेय पदार्थ, फेन्सी पसलहरुबाट उपभोग्य अवधि सकिएका पाउडर र विभिन्न किसिमका क्रिमहरु जफत गरिएको छ ।

प्रशासनको मौसमी अनुगमन नियमित हुन नसक्दा आफूहरु ठगिने क्रम नरोकिएको उपभोक्ताहरुको गुनासो छ ।