झापा । स्थानीय युवा व्यवसायीको लगानीमा बुधबारदेखि अर्जुनधारा-७ स्थित फन वल्र्डसँगै लंका रिसोर्ट सञ्चालनमा आएको छ । आन्तरिक पर्यटन क्षेत्रको प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यसँगै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय युवा व्यवसायीले लंका रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

युवा व्यवसायीहरु उत्सव ढकाल, गोपाल पोखरेल, मित्र गोम्देन, रोशन प्रसाईं र सुरेश आलेको संयुक्त लगानीबाट उक्त रिसोर्ट सञ्चालनमा आएको हो । उक्त रिसोर्टमा पारिवारिक वातावरणसँगै मौलिक खानाका परिकारहरु प्राथमिकतामा रहने सञ्चालक मित्र गोम्देनले बताए । रिसोर्टमा बार, सेमिनार हल, कन्सर्टका लागि आवश्यक स्टेज, आवासका लागि पाँच वटा कोठा, कटेजलगायत रहेको छ ।

थ्री इन वान सेवाअन्तर्गत रेष्टुरेन्ट, विवाह तथा पार्टीलगायतका लागि पार्टी प्यालेस र सेमिनार हलको रुपमा प्रयोग गर्न रिसोर्ट उपयुक्त हुने अर्का सञ्चालक सुरेश आले बताउँछन् । प्रत्येक दिन स्थानीय कलाकार र ब्याण्डहरुको प्रस्तुति रहने उक्त रिसोर्टमा महिनाको अन्तिम दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने सञ्चालकमध्येका गोपाल पोखरेलले बताए ।

उक्त रिसोर्टको उद्घाटन अर्र्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरे । रिसोर्ट उद्घाटनको पहिलो दिन गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटासँगै काँकरभिट्टाका वेभ ब्याण्डको प्रस्तुति रहेको छ ।

त्यस्तै, भोलि बिहीबार अतृप्त ब्याण्डको साथमा गायक नविन के. भट्टराईको प्रस्तुति रहने बताइएको छ । डेढ विगाहा क्षेत्रफल रहेको रिसोर्टमा २६ जनालाई प्रत्यक्ष रोजगारी प्राप्त भएको छ ।

पुरानो छहारी रिसोर्ट भएको स्थानमा नयाँ व्यवस्थापनसँगै लंका रिसोर्ट सञ्चालनमा आएको हो । नयाँ व्यवस्थापनले स्थानीय उपभोक्तालाई लक्षित गरी बिर्तामोडका नाम चलेका होटल, रेष्टुराँभन्दा सस्तो रेटमा सेवा उपलब्ध गराउने बताइएको छ ।

नयाँ व्यवस्थापनसँगै रिसोर्टमा नयाँ डिजाइनले आन्तरिक वा बाह्य पर्यटकको मन जित्न सञ्चालकले विभिन्न कोणबाट लगानी गरेका छन् ।