काठमाण्डौ । गएको वर्षभन्दा ढिलो गरी सुरु भएको मनसुन आजदेखि बाहिरिएको छ । सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।

यो वर्ष मनसुनको आगमन औसतभन्दा १० दिन ढिलो भएको थियो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो भयो । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाण्डौमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ ।

मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सामान्यतया सेप्टेम्बर २३ अर्थात असोज ६ गतेतिर नै मनसुन बाहिरिनुपर्ने भए पनि यो वर्ष झण्डै ३ हप्ता ढिलो गरी मनसुन नेपालबाट बाहिरिएको हो ।

उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबैभन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबैभन्दा लामो मनसुन रहेको छ। मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ ।

यस्तै आज काठमाडौं उपत्यकालगायत मध्य र तराई भूभागको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पहाडका १र२ ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको भए पनि अरु ठाउँको मौसम सामान्य रहने मौसमविद्को भनाइ छ ।