ख्याम भुजेल,
इलाम । सूर्योदय नगरपालिकाको अन्तुमा धनकुमार आलेले सञ्चालन गरेको होमस्टेमा गत कात्तिक महिनामा पाँच सयजना पर्यटक वास बसे । होम-स्टे सञ्चालन गरेरै आलेले कात्तिक महिनामा २ लाख ७५ हजार रुपैयाँ आम्दानी गरे । अन्तुमा सूर्योदय हेर्ने उपयुक्त समय असोज-कात्तिक मानिने हुँदा यहाँ आउने पर्यटकको संख्या यस वेला अरू वेलाभन्दा निकै बढी हुन्छ ।

आलेको होमस्टेमामा बस्ने पर्यटकको संख्या कुनै महिना पनि तीन सयभन्दा कम नहुने गरेको उनी बताउँछन् । प्रत्येक महिना तीन सयदेखि पाँच सयजनासम्म पर्यटक आलेको होमस्टेमा बस्न पुग्छन् । सोही स्थानका कैलाश प्रधानले १० महिनामा (साउनदेखि वैशाखसम्म) २ हजार ५ सयभन्दा बढी पर्यटकलाई सेवा दिए । यसबाट १० महिनामा १३ लाख ९५ हजार रुपैयाँ कमाएको उनी बताउँछन् ।

अर्का होम-स्टे सञ्चालक मनबहादुर खत्रीको कमाइ पनि उस्तै छ । १० महिनामा उनले १२ लाख हाराहारी आम्दानी गरेका छन् । इलामको अन्तुमा दर्ता भएका ४४ वटा होमस्टे सञ्चालनमा छन् । सबैजसो होमस्टेमा बाह्रैमास पर्यटक हुन्छन् । अझ शुक्रबार र शनिबार होमस्टेमा पर्यटकको लर्को लाग्ने गरेको छ ।

अन्तुमा होम-स्टे सञ्चालनमा आएपछि पर्यटन आम्दानीको राम्रो स्रोत बनेको छ । सामुदायिक होम-स्टे सञ्चालन गरेर अन्तुका होम-स्टेले वर्षको साढे ३ करोडभन्दा बढी आम्दानी लिने गरेका छन् । अन्तुडाँडा सामुदायिक होम-स्टेको गत आवको तथ्यांकअनुसार अन्तुका होमस्टेमा ६५ हजार २ सय २१ पर्यटक वास बस्न पुगेका थिए । प्रतिव्यक्ति न्यूनतम पाँच सय ५० रुपैयाँका दरले मात्रै आम्दानी गर्दा ४४ वटा होमस्टेले तीन करोड ५८ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको अन्तु सामुदायिक होम-स्टेले जनाएको छ ।

सामुदायिक होम-स्टेले एक जना पर्यटक राखेबापत १० रुपैयाँ संस्थामा जम्मा गर्नुपर्छ । त्यसका लागि होम-स्टेले पर्यटकको विवरण संस्थालाई बुझाउने गरेको सामुदायिक होम-स्टेका सञ्चालकसमेत रहेका धनकुमार आले बताउँछन् । ‘नेपालमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने अन्तु सामुदायिक होमस्टे हो’, आलेले भने, ‘कसैले घटाएर तथ्यांक दिएको होला, तर योभन्दा बढी नै पर्यटक होम-स्टेमा बसेका छन् ।’

पेइङ गेस्टपछि होम-स्टे अवधारणा
अन्तुबाट मनमोहक सूर्योदयको दृश्यावलोकन हुने प्रचार भएपछि अन्तुमा ०५२ सालपछि पर्यटक जान थालेका हुन् । सुरुमा त्यहाँ पुग्ने पर्यटकले गाउँमा वास खोजेर बस्नुपथ्र्यो । पर्यटक पुग्न थालेपछि अन्तुमा ‘पेइङ गेस्ट’ को अवधारणा आएको थियो । ‘पहिले पाहुनालाई पैसा लिने चलन थिएन, बस्नलाई आफ्नै कोठा दिन्थ्यौँ’, आले सुनाउँछन्, ‘सुरुमा राम्रो अवस्था थिएन, कुनैवेला पाहुनालाई खुवाउन चामलै हुन्थेन ।’

‘बाक्लै पाहुना लाग्न थालेपछि सुतेको ५०, खाएको ३५ रुपैयाँ लिन थालेका हौँ’, उनले थपे, ‘०५७ सालयता होम-स्टेको अवधारणा बन्यो, त्यसैले अहिले घरखर्च धान्ने मेलो बनेको छ ।’ पाहुनाबाट पैसा आम्दानी हुन थालेपछि अन्तुका बासिन्दाले पर्यटनको महत्व बुझे । त्यसपछि अन्तुलाई प्रचार गर्न १० वर्षसम्म बर्सेनि अन्तु महोत्सव गरियो ।

बाह्रैमासे व्यवसाय
केही वर्षअघिसम्म अन्तुको पर्यटन व्यवसाय सिजनल थियो । सूर्योदयको दृश्यावलोकनका वेला पर्यटकको चाप हुन्थ्यो । अरू वेला होम-स्टे सञ्चालक कृषि कर्ममा लाग्थे । अहिले कुनै पनि वेला पर्यटकको खाँचो हुँदैन । बाह्रैमास पर्यटक आउन थालेपछि होम-स्टे सञ्चालक अरू काम छाडेर यही व्यवसायमा लागेका छन् ।

‘पहिले २ महिना होम-स्टे चलायो, अरू वेला खेतीको काम गर्नुपथ्र्यो’, हो-मस्टे सञ्चालक रुद्र घिमिरे भन्छन्, ‘अहिले बाह्रै महिना पर्यटक आउँछन्, खेतीको काम गर्न भ्याई-नभ्याई भएपछि खेती अरूलाई जिम्मा लगाएको छु ।’

अन्तुमा कालोपत्रे सडक पुगेसँगै सबै सिजनमा पर्यटक जान थालेका हुन् । ‘जन्म दिन मनाउने, विदेशबाट आएर परिवार घुमाउने, गोष्ठी सेमिनार गर्नेदेखि शैक्षिक भ्रमणमा आउने धेरै हुन्छन्’, धनकुमार आले भन्छन् ।

भित्रिँदै छ लगानी
पर्यटकको सदाबाहर चहलपहल हुन थालेपछि अन्तुमा धमाधम होटेल, रिसोर्ट र रेस्टुरेन्ट बन्न थालेका छन् । ३ वर्षयता ठूलो रकम लगानी गरी आकर्षक होटेल रेस्टुरेन्ट बन्न थालेका हुन् ।

तीन वर्षअघि अन्तुमा एउटा मात्रै कटेज थियो । चियाबारीबीचको कटेजले पर्यटकलाई लोभ्याउन थालेपछि अन्तुमा लगानी बढ्न थालेको हो । सुरुमा करिब ४० लाख लगानी गरेर अन्तु कटेज बनाइएको थियो । त्यसपछि बर्सेनि अन्तुमा होटेल र रिसोर्ट थपिँदै छन् । अहिले अन्तुमा दर्जन हाराहारी होटेल, कटेज र रिसोर्ट बनेका छन् ।

सूर्योदयको दृश्यावलोकन गर्ने डाँडादेखि अन्तु पोखरी र आसपासका क्षेत्रमा पर्यटकलक्षित होटेल थपिँदै छन् । अधिकांश रिसोट र कटेज जग्गा भाडामा लिएर बनाइँदै छ । लिजमा जग्गा खोज्नेको संख्या पनि बाक्लै रहेको स्थानीय रुद्र घिमिरे बताउँछन् ।

अन्तुमा होम-स्टेको सेवा पनि होटेलभन्दा कम छैन । कतिपय होम-स्टेमा एट्याच बाथरुमसहितका कोठा व्यवस्था गरिएको छ । दर्जन होम-स्टेमा एट्याच बाथरुम भएका कोठा पाइन्छ । होटेलमा लगानी थपिँदै जाँदा होम-स्टे व्यवसायीले पनि आफूलाई प्रतिस्पर्धीका रूपमा विकास गर्दै छन् ।

होम-स्टे सञ्चालन गरिएका धेरैजसो घरमा पर्यटकका लागि गोलघर व्यवस्था गरिएको छ । कोठालाई चटक्क पार्ने र सफा राख्ने गरिन्छ ।